जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हरेक दिन बिहान–बेलुका कहाँ–कहाँ पानी पर्ने सम्भावना छ भनेर जानकारी दिने गरेको छ।
तर त्यसमा प्रयुक्त कतिपय शब्द सर्वसाधारणलाई बुझ्न कठिन हुन्छ।
यसै सन्दर्भमा मौसम महाशाखाले भिडिओ सन्देश जारी गरी एक-दुई स्थान, थोरै स्थान, केही स्थान, धेरै स्थान, अधिकांश स्थानमा वर्षाको सम्भावना भन्नुको अर्थबारे जानकारी गराएको छ।
मौसमविद् बिनु महर्जनका अनुसार, सुरुमा पानी पर्ने सम्भावना हुँदा कति क्षेत्रफलमा कति पानी पर्न सक्छ भनेर आकलन गरिन्छ।
आकलनअनुसार कुनै प्रदेशको १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने एक-दुई स्थानमा पानी पर्न सक्छ भनिन्छ।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
सुन्नुहोस् भिडिओ-
Shares

प्रतिक्रिया