समाज


नजिकिँदै न्यून चापीय रेखा, भारी वर्षाको सम्भावना

नजिकिँदै न्यून चापीय रेखा, भारी वर्षाको सम्भावना

नेपालखबर
असार २२, २०७६ आइतबार १:२८,

आज (आइतबार) पनि देशैभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसमविद् समीर श्रेष्ठका अनुसार भारतमा रहेको न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालतर्फ नजिकिँदै गरेकाले वर्षा हुने क्रम बढेको हो।

‘न्यून चापीय रेखा भारतको झारखण्ड, आन्ध्र प्रदेशसम्म आइपुगेको छ र त्यो नेपालतर्फ नजिकिँदै छ,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘त्यही भएर नेपालमा वर्षा हुने क्रम बढ्दै छ।’

आज पनि देशैभर मौसम बदली भएको र मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको उनले बताए।

 मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वका पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ भने बाँकी भूभागमा हल्का पानी पर्ने सम्भावना छ।

मौसमविद्का अनुसार मध्य नेपालका पहाडी भूभाग र पश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुनसक्छ।

हिजो शनिबारदेखि मुलुकभर वर्षा हुने क्रम बढेको हो। मौसमविद् श्रेष्ठका अनुसार हिजो काठमाडौंमा झन्डै ५ घण्टा लगातार वर्षा भएको थियो।

‘तर पनि यसलाई झरी भन्नचाहिँ मिल्दैन, झरी सुरु हुन अझै बाँकी छ,’ उनले भने। 

यो भनेको मध्यम वर्षा हो। आज पनि काठमाडौंमा दिनभरि मौसम बदली रहने मौसमविद् श्रेष्ठले जानकारी दिए। ‘बेला–बेला घाम देखिए पनि आज दिनभर नै मौसम खुला हुने सम्भावना छैन,’ उनले भने, ‘काठमाडौंमा आज पनि मध्यम खालको वर्षा हुने सम्भावना छ।’

उनका अनुसार न्यून चापीय रेखा जति नेपाल नजिक आउँछ उति नै वर्षा हुने क्रम पनि बढ्छ। ‘न्यून चापीय रेखा नै नेपाल प्रवेश गरेको अवस्थामा भने ठूलै वर्षा हुन्छ,’ मौसमविद् श्रेष्ठले भने, ‘तर यसपटक यो रेखा नेपालको सीमासम्म आएर बस्ने अनुमान छ।’

मौसम पूवानूमान महाशाखाको रेकर्डअनुसार हिजो शनिबार सबैभन्दा बढी वर्षा बाँकेको नेपालगन्जमा १०९.४ मिलिमिटर वर्षा भएको छ भने दोस्रोमा बाराको सिमरामा ७३.६ मिलिमिटर वर्षा भएको छ।

महाशाखाले जारी गरेकाे तीन दिनसम्मकाे माैसमी अनुमान यस्ताे छ:

असार २२ गते (आइबार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका पश्चिमी भू-भागका धेरै स्थानमा र मध्य र पूर्वका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहितको वर्षाको सम्भावना छ। देशका बाँकी भू-भागमा हल्का वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्छ।

राति: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका मध्य र पश्चिमी भू-भागका धेरै स्थानमा र पूर्वका केही स्थानमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भागका एक-दुई स्थान, मध्य-पश्चिमी तराईका एक-दुई स्थानमा र पूर्वका तराई र तल्लो पहाडी भू-भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

असार २३ गते (सोमबार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वि नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी र तराईका भू-भागका एक-दुई स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्छ।

राति: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका केही स्थानमा र पूर्वि नेपालका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्छ।

असार २४ गते (मंगलबार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वि नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी र तराईका भू-भागका एक-दुई स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्छ।

राति: देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad