समाज


३१ औँ पटक सगरमाथा शिखरमा कामीरिता, अर्को विश्व रेकर्ड

३१ औँ पटक सगरमाथा शिखरमा कामीरिता, अर्को विश्व रेकर्ड

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०८२ मंगलबार ७:३१, काठमाडौँ

कामीरिता शेर्पाले यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। 

मंगलबार बिहान चार बजे शेर्पा ३१ औँ पटक सगरमाथा शिखरमा पुगेका सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले जानकारी दिए। 

गत वर्ष कामीरिताले ३० औँपटक सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए। त्यो आफ्नै रेकर्डलाई उनले आज ब्रेक गरेका हुन्। गत वर्ष उनले १० दिनकै फरकमा दुईपटक सगरमाथा आरोहण गरेका थिए।

उनले ०८१ वैशाख ३० गते २९ औँ र  ०८१ जेठ ९ गते ३० औँ पटक सगरमाथाकाे सफल आरोहण गरेका थिए। 

कामीरिताले सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमानलाई कामय राखेका छन्।

‘एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार! ३१ औँ पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरैपटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औँ पटकको सफल आरोहणका लागि बधाई!’ 

यसपटक उनी लेफ्टिनेन्ट कर्णेल मनोज जोशीको नेतृत्वमा रहेको २२ जना भारतीय सैनिकको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए। 

‘यसपटक कामीरिता आफैँ मात्र शिखरमा पुगेनन्, टोलीका बाँकी रहेका अन्तिम सदस्यहरूलाई पनि शिखरमा पुर्‍याउन नेतृत्व र मार्गदर्शन गरेका छन्,’ छाङ दावा शेर्पाले सामाजिक सञ्जालमा लेखेका छन्। 

सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनले सगरमाथा केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालकाे ४५ पटक सफल आराेहण गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad