समाज


भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयले भन्यो– नेतृत्वको कुनै प्रकारको संलग्नता छैन

भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयले भन्यो– नेतृत्वको कुनै प्रकारको संलग्नता छैन

नेपालखबर
जेठ १०, २०८२ शनिबार १७:५८, काठमाडौँ

गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ। शनिबार विज्ञप्ति निकाल्दै मन्त्रालयले यसबारे सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गर्न आग्रह समेत गरेको छ। 

‘यस्ता कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘साथै, बिषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

यो प्रकरणमा कम्तिमा १४ कर्मचारी आयोगको छानबिनमा परेपछि शुक्रबार गृहमन्त्रालयले उनीहरुलाई जिम्मेवारीबाट हटाएको थियो।गृहमन्त्रीको मञ्जुरीबिना यस्तो काम हुननसक्ने भन्दै धेरैले गृहमन्त्री लेखकमाथि छानबिन थाल्नुपर्नेमा दवाव बढाएका छन्।

यसबारे प्रतिक्रिया जनाउँदै गृहमन्त्री रमेश लेखकले शनिबार नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा आयोजित कार्यकर्ताहरुसँगको छलफल कार्यक्रममा गृहमन्त्रालयले आजै विज्ञप्ति निकालेर स्पष्ट पार्ने बताएका थिए। त्यस्तै यसबारे दुई/चार दिनपछि आफूँ पनि बोल्ने जानकारी दिएका थिए।

यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै अनुसन्धान सकिएपछि सत्यतथ्य आउने बताएको छ।

‘पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आयोगबाट हुने छानबिन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ।’

मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन क्रियाशील रहेको भन्दै मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको समेत जिकिर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad