धादिङकाे बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न वडास्थित चेपाङ बस्तीमा फैलिएको दादुरा-रुबेलाबाट दुई शिशुको मत्यु भएको छ भने डेढ सय बालबालिका बिरामी भएका छन्।
गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीका अनुसार बेनीघाट रोराङ वडा नम्बर १, ४ र ६ का विभिन्न बस्तीमा २ महिनायता दादुराको प्रकोप फैलिएको हो। जहाँ चेपाङ समुदायको मात्रै बसोबास छ।
यो प्रकोपका कारण वडा नम्बर ६ मा अढाई वर्षकी अनिसा चेपाङ र वडा नम्बर का ४ का ८ महिने शिशु सुशान्त चेपाङको मृत्यु भएको उनले जानकारी दिए। सुशान्तकाे चैत ११ र अनिसाकाे १५ गते मृत्यु भएको उनले बताए।
‘अझै डेढ सय चेपाङ बालबालिका बिरामी छन्,’ बेनीघाट रोराङ गाउँपालिकाका स्वास्थ्य प्रमुख दुवाडीले आइतबार दिउँसो नेपालखबरसँग भने, ‘प्रकोप पूरै शून्यमा त झरेको छैन, तर स्थिति सामान्य बन्दै गएको छ।’
उनका अनुसार दादुरा-रुबेलाबाट विशेषगरी वडा नम्बर ६ ग्रस्त छ। यस वडाका तार्केटार, बुङपुङ, भूमेडाँडा, बुमराङ, सोलडाँडा, रोतेस, रुदिङ, जरुङमा धेरैजना बिरामी देखिएका हुन्।
‘मूलतः कुपोषका कारण चेपाङ बालबालिकामा रोगको प्रकोप फैलिएको देखिन्छ,’ उनले भने, ‘सबै आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकाले पोषिला खानेकुरा खान पाउँदैनन् र कुपोषण भएपछि विभिन्न रोगले आक्रमण गर्छ।’
उनका अनुसार यहाँका धेरैजसो बालबालिकाले अनिवार्य खोप पनि लिएका छैनन्। यसले गर्दा पनि दादुराको प्रकोप फैलिएको हो।
‘यो जानकारी केन्द्र सरकारको बाल स्वास्थ्य महाशाखामा पनि पुर्याइसकेका छौं,’ गाउँपालिका स्वास्थ्य प्रमुख दुवाडीले भने, ‘केही योजना बन्दै होला, तर अहिलेसम्म कुनै आधिकारिक निर्णय भएको जानकारी आएको छैन।
जुन बस्तीहरूमा दादुरा–रुबेलाको प्रकोप देखिएको छ, त्यहाँ पुग्न पैदल २ देखि ४ घण्टासम्म लाग्छ। दुवाडीका अनुसार गाउँपालिकाको स्वास्थ्य कार्यालय रहेको विशालटारबाट त्यहाँ पुग्न त ५ घण्टा हिँड्नुपर्छ।
‘तैपनि हामी त्यहाँ महिनामा १० पटक पुगिरहेका छौं,’ उनले भने, ‘गाउँपालिकाको स्वास्थ्य संस्था तथा सम्बन्धित वडाका स्वास्थ्य चौकी हप्ता हप्तामा खटिरहेका छौं।’
प्रतिक्रिया