समाज


जर्मन राष्ट्रपतिद्वारा नेपालमा कार्यरत सामाजिक संस्थाका सञ्चालकलाई सर्वोच्च सम्मान

जर्मन राष्ट्रपतिद्वारा नेपालमा कार्यरत सामाजिक संस्थाका सञ्चालकलाई सर्वोच्च सम्मान

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १४:४७, डेलिट्ज (जर्मनी)

जर्मन राष्ट्रपति फ्र्यांक वाल्टर स्टेनमेयरले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत सामाजिक संस्थासम्बद्ध दुई जनालाई जर्मनीको सर्वोच्च नागरिक सम्मान फेडरल क्रस अफ मेरिट अन रिबन प्रदान गरेका छन्।

राष्ट्रपति स्टेनमेयरले सामाजिक संस्था नेपालमेडसँग संलग्न सिल्के र आर्ने ड्रेब्जलाई नेपालमा स्वास्थ्य सेवा प्रणालीको सुरुवात र सुधारको लागि उक्त सम्मान प्रदान गरेका गरेका हुन्।

स्थानीय समय जर्मनी नामक आफ्नो आधिकारिक भ्रमण अभियानको एक भागको रूपमा राष्ट्रपति स्टेनमेयर देशभरका मानिसहरूसँग प्रत्यक्ष संवादमा संलग्न हुन नियमित रूपमा विभिन्न क्षेत्रको भ्रमण गर्छन्। यस्तो यात्रामा हालै राष्ट्रपति स्टेनमेयरले स्याक्सोनी राज्यको डेलिट्ज सहरको भ्रमण गरे। त्यस अवसरमा राष्ट्रपतिले २२ मे २०२५ मा नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत सामजिक संस्था नेपालमेडसँग संलग्न  सिल्के र आर्ने ड्रेब्जलाई सम्मान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

संघीय राष्ट्रपतिको कार्यालयद्वारा जारी आधिकारिक विज्ञप्तिमा नेपालमेडले विगत २५ वर्षदेखि नेपालको स्वास्थ्य सेवा प्रणालीलाई सहयोग गर्दै आएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार, उनीहरू सुरुदेखि नै यस सामजिक संस्थासँग आबद्ध छन्। आर्ने ड्रेब्ज संस्थाको अध्यक्ष र सिल्के ड्रेब्जले आर्थिक संकलन तथा संयोजनको कार्य गरिरहेका छन्।

विज्ञप्तिमा थप लेखिएको छ कि नेपालको जनसंख्याको सानो भागको मात्र स्वास्थ्य सेवामा पहुँच छ। त्यसैले नेपालमेड प्रमुख सहरहरूबाट टाढा रहेका ग्रामीण अस्पतालहरू र प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूलाई सहयोग गर्न सक्रिय रूपमा संलग्न रहेको छ। यसका साथै, नेपालमेडले अस्पतालहरूसम्म जाने सडक निर्माण, सवारी साधन खरिद र कर्मचारी आवास सुविधा निर्माणमा पनि सहयोग गर्दछ। स्थानीय स्वास्थ्य सेवा कर्मचारीहरूको नियमित तालिम र उच्च  शिक्षा पनि नेपालमा स्वास्थ्य सेवा सुधार पहलको एक महत्त्वपूर्ण भाग हो। त्यसैले, नेपालमेडले नियमित रूपमा नेपाली स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवा ज्ञान र सीप प्रसारको लागि विभिन्न पाठ्यक्रमहरू निर्माण र प्रशिक्षण कार्यक्रमहरू आयोजना र सञ्चालन गर्दछ।

ड्रेब्ज दम्पतीले नेपाल रेस्पिरेटोरी सोसाइटीको स्थापनामा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए।

राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेपछि सिल्के र आर्ने ड्रेब्जले नेपाल र युरोपमा रहेका आफ्ना सबै सहयोगीहरूका साथै नेपालमेडका सदस्यहरूप्रति कृतज्ञता व्यक्त गरे। उनीहरूले यस प्रतिष्ठित सम्मानको अर्थ केवल व्यक्तिगत उपलब्धि मात्र नभई विश्वभरका नेपालमेडसँग संग्लग्न स्वयंसेवीहरू साझेदारहरू, दाताहरू र शुभेच्छुकहरूको सामूहिक प्रयासको उपयुक्त सम्मान भएको बताए।

ड्रेब्ज दम्पतीले यो सम्मान उनीहरूले रोजेको बाटोमा मानवीय यात्रा जारी राख्नको लागि एक प्रेरणादायी प्रोत्साहन भएको बताए।

नेपालमेडका आगामी मुख्य परियोजनाहरूमा कीर्तिपुर अस्पतालमा रक्तसञ्चार एकाइको स्थापना, नेपालको पश्चिमी भागमा सुषुप्त क्षयरोगको अन्वेषण र उपचार कार्यक्रम तथा स्तन क्यान्सरको स्क्रिनिङ कार्यक्रमलाई आर्थिक सहयोग समावेश छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad