समाज


ठमेलमा हनीट्रयापमा परे ५७ वर्षका कर्मचारी, ५ लाखको चेक काटेपछि गुहारे प्रहरी

ठमेलमा हनीट्रयापमा परे ५७ वर्षका कर्मचारी, ५ लाखको चेक काटेपछि गुहारे प्रहरी

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १९:८, काठमाडौँ

उमेरले ५७ वर्ष पुगिसकेका एक सरकारी कर्मचारीको फेसबुकमा दुई साता पहिले एउटी महिलाको फ्रेन्ड रिक्वेस्ट आउँछ। उनले तत्कालै त्यसलाई एसेप्ट गर्छन् र कुराकानी गर्न थाल्छन्।

ती कर्मचारीको काठमाडौँमा घर जग्गा छ। पर्याप्त सम्पत्ति भएको र जीवन शैली पनि उस्तै खर्चालु भएकाले उनलाई ती महिलाले अर्की महिला र दुई जना पुरुषसँग मिलेर ठगी गर्ने योजना बनाएका थिए।

योजना अनुसार उनीहरूले मोबाइल नम्बर साटे। फोनमा पनि कुरा हुन थाल्यो। अघिल्लो साता ती महिलासँग ठमेलको एउटा होटलमा भेट्ने सल्लाह भयो। ती ५७ वर्षीय कर्मचारी ती महिलालाई भेट्न ठमेल पुगे।

होटलमा दुई जना महिलासँग बसेर ती कर्मचारीले टन्न रक्सी खाए। रक्सी पनि यति खाए कि त्यो रात के–के भयो उनलाई याद नै भएन। तर उनी रक्सीले ढलेपछि महिलाहरूले उनका नग्न फोटो र भिडिओ बनाएछन्। तर ती कर्मचारीलाई यो केही थाहा भएन। उनलाई रक्सीले छाड्दा ती दुई महिला पनि होटलमा थिएनन्।

उनलाई छाडेर गइसकेका थिए। त्यसको एक हप्ता सामान्य रुपमै बित्यो। तर अर्को साता ती कर्मचारीलाई अर्की महिलाको प्रोफाइलबाट फ्रेन्ड्स रिक्वेस्ट आयो। एसेप्ट गर्नासाथ ती महिलाले उनका त्यसरात खिचेका फोटा र भिडिओ पठाइदिइन् र भनिन्, ‘अब मेरो डिमान्ड पूरा गर्नु भएन भने तपाईंविरुद्ध मुद्दा हाल्छु।’

ती कर्मचारी त्यसरात ठमेलको होटलमा भएका गतिविधिका आफ्नै फोटा देखेर चकित भए। उनलाई सपना जस्तै लाग्यो। उनले ती महिलाहरूलाई फेरि भेटेर यो विषय सल्टाउन प्रस्ताव गरे।

उनीहरूले भेटेर छलफल गर्दा दुई महिलाले कि काठमाडौँमा घर नभए चार आना जग्गा चाहिने माग गरे। ती कर्मचारी यो दिन तयार भएनन्। उनले पैसामै मिलाउन प्रस्ताव गरे। तर उनको साथमा त्यतिबेला पैसा थिएन। उनी ५ लाख रुपैयाँको चेक दिएर त्यहाँबाट उम्किए।

त्यसपछि उनले यस बारेमा आफ्ना साथीभाइहरूसँग पनि सल्लाह गरे। प्रहरीसम्म यो घटना पुगे उनी हनी ट्र्यापमा परेको र ती महिलाहरूलाई नै कारबाही हुने जानकारी पाए। त्यसपछि उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिन पुगेका थिए। उनको निवेदनपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले ती दुई महिलालाई बुधबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका १० दमौराकी ३४ वर्षकी ममता तामाङ र भक्तपुर नगरपालिका १७ सल्लाघारीकी ३४ वर्षकै आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन्। ममता हाल काठमाडौँको कालोपुल र आँचल हाँडीगाउँ बस्दै आएकी थिइन्।

ठमेलमा रक्सी खाने कर्मचारीको फोटो ममताले खिचेकी थिइन्। सुरुमा कुरा गरेर आँचलले उनलाई भेट्न बोलाएकी थिइन्।

उनीहरूसँगै योजना बनाउने दुई पुरुष भने फरार छन्। ती कर्मचारीले आँचल चौगुठीको नाममा काटेको ५ लाखको चेक पनि प्रहरीले बरामद गरेको छ।

उनीहरूलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयका पूवक्ता एसपी काजीकुमार आचार्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad