समाज


सहसचिव भट्टराईलाई केही घण्टामै छाड्यो अख्तियारले

सहसचिव भट्टराईलाई केही घण्टामै छाड्यो अख्तियारले

नेपालखबर
जेठ ७, २०८२ बुधबार २१:३४, काठमाडौँ

गृह मन्त्रालयका सहसचि तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छाडेको छ। 

बुधबार दिउँसो पक्राउ परेका उनलाई अख्तियारले भोलि बिहीबार आफैँ उपस्थित हुने शर्तमा रिहा गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा नेपालीलाई पठाउन गिरोहसँग मिलेको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको थियो।

अख्तियारले पर्याप्त प्रमाण संकलन गरेर मुद्दा चलाउने आधार बनाएपछि मंगलबार मात्रै भट्टराईलाई गृहमन्त्रालय सरुवा गरिएको थियो। सरुवा भएको भोलिपल्टै उनी पक्राउ परेका थिए।

तर उनलाई अख्तियारको कार्यालय टंगाल पुर्‍याएको केही घण्टामै बुधबार साँझ रिहा गरिएको अख्तियार स्रोतले जनाएको छ।

विमानस्थलको प्रमुख अध्यागमन अधिकृतका रूपमा काम गर्दा उनले नेपालीलाई विभिन्न श्रम गन्तव्यमा भिजिट भिसामा पठाउने गिरोहसँग मिलेर रकम उठाएको उजुरी परेपछि अख्तियारको टोलीले कार्यालयमा छापा मारेको थियो। त्यसक्रममा केही डिभाइस तथा कागजात पनि नियन्त्रणमा लिइएको अख्तियारका एक अधिकारीले नेपालखबरसँग बताए।

यसअघि भूकम्पको बेला त्रिपाल अनियमितताको आरोपमा पनि उनीविरुद्ध मुद्दा चलेको थियो। विशेष अदालतका तत्काली अध्यक्ष बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले २०७४ चैत ४ गते त्रिपालकाण्डमा सफाइ दिएको थियो। 

त्यसपछि निलम्बन फुकुवा भएर सरकारी सेवामा पुनः हाजिर भएका भट्टराईलाई गृहमन्त्री रमेश लेखकले महत्वपूर्ण कार्यालयको जिम्मेवारी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad