ad ad

समाज


संक्रमित युवा सीमामा सयौंको भीडमा रहेको आशंका

संक्रमित युवा सीमामा सयौंको भीडमा रहेको आशंका

यज्ञराज जोशी
चैत २२, २०७६ शनिबार १३:४७,

कैलालीमा शनिबार कोरोना संक्रमित भनी पुष्टि भएका युवा चैत्र ११ गते धनगढीको गौरिफन्टा सीमानाकामा लकडाउनका कारण नेपाल छिर्न नपाएका सयौंको भिडमा रहेको आशंका बढेको छ।

लम्कीचुहा नगरपालिका वडानम्बर ९ को सरस्वती माविमा बनाइएको क्वारेन्टिनमा राखिएका ती २१ वर्षीय युवालाई शनिबार कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

उक्त क्वारेन्टिनको व्यवस्थापनमा खटिएका लम्की चुहा नगर वडानम्बर ९ का अध्यक्ष रामप्रसाद चौधरीका अनुसार १२ गते गाँउ पुगेका ती युवा अघिल्लो दिन लकडाउनका कारण सीमामा अलपत्र परेका सयौं नेपालीहरुको भीडमा रहेको आशंका बढेको छ।

‘१२ गते बिहानै उनी गाँउ पुगेपछि हामीले क्वारेन्टिनमा राखेका थियौं। त्यस अघिल्लो दिन सीमामा अलपत्र परेकाहरुको भीडमा उनी रहेको आशंका बढेको छ। हामी खोजबिन गर्दैछौं,’ उनले भने।

सरकारले चैत्र ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको थियो। सोही दिन धनगढीस्थित गौरिफन्टा नाकामा पुगेका ९ सय बढी नेपालीहरु अलपत्र परेका थिए। उनीहरुले पटकपटक नेपाल आउन पाउनुपर्ने माग गर्दा सीमामा तनाव समेत भएको थियो।

त्यहि दिन साँझ सीमामा अलपत्र परेका नेपालीलाई एकपटकलाई नेपाल छिर्न दिने भन्दै सरकारले सीमामा रहेका सबैलाई बसको व्यवस्था गरी आ–आफ्नो घर पठाएको थियो।

अर्कोदिन बिहान ती त्यही भीडबाट घर पुगेको खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

‘१२ गते त्यही भीडबाट घर गएका हुन कि भन्ने खबर आएको छ। थप बुझ्दैछौ,’ नेपालखबरसँग उनले भने।

लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले ११ गते राति सरकारले प्रबन्ध गरेको बसमा नभई ती युवा १२ गते विहान आफै घर पुगेको बुझिएको बताए।

‘सरकारले व्यवस्था गरेको समूहमा नभएर १२ गते बिहान आफै सोझै आफ्नो घर आएको देखिन्छ,’ नगरप्रमुख बजगाईले नेपालखबरसँग भने, ‘भारतबाट आएको भनेपछि स्थानीयले प्रहरी र स्थानीय प्रतिनिधिलाई खबर गरेको र लगत्तै उसलाई क्वारेन्टिनमा राखिएको बुझेका छौं।’

यद्यपी ती युवा धनगढीबाट लम्की आएकाले सीमाको भिडभाडमा हुनसक्ने सम्भावना देखिएको उनले बताए। तर, अहिलेपनि भारतबाट विभिन्न नाका हुँदै नेपाल मान्छेहरु भित्रिरहेकाले उनको यात्रा विवरण बुझ्ने काम भइरहेको बजगाईले बताए।

वडाअध्यक्ष चौधरीका अनुसार १२ गते बिहान ती युवा सुरुमा आफ्नो घर नपुगेर भाउजुको घर पुगेका थिए। त्यहाँ खाना खाएपछि आफूहरुले भारतबाट आएको भन्ने थाहा पाएर ११–१२ बजेतिर क्वारेन्टिनमा राखेको उनले बताए।

‘हामीले गाउँ पुग्ने बित्तिकै क्वारेन्टिनमा राखेकाले उनले धेरैसँग घुलमिल हुन पाएनन,’ चौधरीले भने, ‘तर हामी उनलाई लिन जाँदा परिवारका सदस्य र दुईचार जना बालबच्चा उनीसँग झुम्मिएका थिए।’

दुई दिनअघि क्वारेन्टिनमा रहेको सबैको नेपाली सेनाका डाक्टरले स्वाव (नमूना) संकलन गरेको उनले जानकारी दिए। उक्त स्वाव परिक्षणको शनिबार नतिजा आएपछि बिहानै उनलाई एम्बुलेन्समा हालेर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो।

ती युवालाई ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षणहरु क्वारेन्टिनमा नदेखिएको उनले बताए। हाल उक्त क्वारेन्टिनमा ४४ जना रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .