समाज


बागमतीको डाइभर्सन बाढीले बगायो, कान्ति लोकपथ फेरि अवरुद्ध

बागमतीको डाइभर्सन बाढीले बगायो, कान्ति लोकपथ फेरि अवरुद्ध

सुनिता विष्ट
जेठ ५, २०८२ सोमबार ८:२९, हेटाैँडा

सोमबार राति परेको अविरल वर्षाका कारण मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा पर्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ। 

बागमती खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले बगाउँदा उक्त सडक खण्डमा गए रातिदेखि नै सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको मकवानपुर प्रहरीले जनाएको छ।

कान्ति लोकपथ अन्तर्गतको बागमती पुल नजिक मर्मत कार्य भइरहेको बेला खोलाको बहाव एक्कासी बढेपछि डाइभर्सनमा प्रयोग गरिएका ह्युमपाइहरूसमेत बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए। 

‘बाढीले डाइभर्सन बगाउँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ,’ अर्यालले नेपालखबरसँग भने, ‘तत्काल यहाँबाट आवतजावत सम्भव देखिएको छैन।’

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली परिचालन गरिएको छ। प्रहरी टोलीले सडकको अवस्थाबारे निरीक्षण गरी सुरक्षाका उपाय अवलम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरिरहेको अर्यालले बताए। 

सडक अबरुद्ध हुँदा यात्रुहरू बीचमै अलपत्र परेका छन् भने सवारी साधन जाममा परेका छन्। वर्षा अझै जारी रहेकाले तत्काल डाइभर्सन पुनः निर्माणमा कठिनाइ भएको प्रहरीले जनाएको छ। सडक खुलाउन केही समय लाग्ने डीएसपी अर्यालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad