समाज


आगामी भदौमा अहिंसा महोत्सव

आगामी भदौमा अहिंसा महोत्सव

नेपालखबर
जेठ ४, २०८२ आइतबार १७:५३, काठमाडौँ

नेपाल शाकाहारी सङ्घले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘अहिंसा महोत्सव नेपाल’ आयोजना गर्ने भएको छ। आगामी भदौ १२ देखि १४ गते (अगस्ट २८–३०, २०२५) सम्म प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सव अवधिभर सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
 ‘करुणाले जोड्दछ’ भन्ने नाराका साथ आयोजना गरिने महोत्सवले पशुपंक्षी, मानव स्वास्थ्य र वातावरणको हितका लागि ‘पूर्ण शाकहारी’ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ।

अहिंसाका मूल्य र शाकहारी जीवनशैलीमा रुचि राख्ने सबैमा समर्पित महोत्सवले पशुमुक्ति अभियन्ता, सङ्घसंस्था र समुदायबीच सम्बन्ध र सहकार्यको पुल बन्ने उद्देश्य पनि राखेको नेपाल शाकाहारी सङ्घका अध्यक्ष कृष्ण गुरुङले बताए।
 
उनका अनुसार महोत्सवका प्रमुख आकर्षणमा दिगो जीवन पद्धति, शाकहारी जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया, साङ्गीतिक प्रस्तुति, योग सत्र, देशविदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान, शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रिभोज रहनेछन्।

महोत्सवमा ३० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको भन्दै ५० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अनुमान गरिएको अध्यक्ष गुरुङले उल्लेख गरे। उनका अनुसार महोत्सवमा शाकहारी उत्पादनका ६० भन्दा बढी कक्ष, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहनेछन्।

सङ्घले यसअघि २०७४ सालमा काठमाडौँमा ३५ भन्दा बढी अन्तरराष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरेको आठौँ एसिया(प्यासिफिक भेजिटेरियन कांग्रेस (एपीभीसी) को सफलतालाई निरन्तरता दिँदै महोत्सव आयोजना गर्न लागिएको जनाएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad