समाज


पोखरामा प्रहरीको निष्कर्ष: भान्जाहरू गहना चोर्ने, मामा किन्ने

१२ वटा चोरी घटनामा संलग्न आरोपमा ५ जना पक्राउ
पोखरामा प्रहरीको निष्कर्ष: भान्जाहरू गहना चोर्ने, मामा किन्ने

चोरीका क्रममा कैद सीसीटीभी फुटेज


नेपालखबर
जेठ २, २०८२ शुक्रबार ११:१७, काठमाडौँ

पोखरामा नाताभित्रैको एउटा समूहले चोरी शृंखला चलाएको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्लो समय लगातार चोरीका घटना भइरहेको सूचनापछि त्यसमा संलग्न समूहलाई पक्राउ गरेको हो। 

२०८१ मंसिरदेखि र २०८२ वैशाख २५ गतेभित्रमै ७ वटा चोरी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले नेपालखबरलाई जानकारी दिए। उनीहरूले पोखरा महानगरपालिकाका वडा नं २६, ३०, ३१ र ३२ का क्षेत्रमा चोरी गरेको पत्ता लागेको छ। 

माघ १६ गते राति ११ बजे पोखरा महानगरपालिका-३०, शिसुवास्थित घरमा कोही नभएको अवस्थामा ढोकाको ताला फोरी चोरी भएको थियो। त्यहाँबाट ४ लाख ४९ हजार रुपैयाँको धनमाल चोरी भएको भन्दै जाहेरी परेको थियो। 

यही समूहले फागुन ११ गते वडा नं. ३२ को सातमुहाने दुर्गा मन्दिर टोलस्थित घरमा कोही नभएको अवस्थामा ढोकाको ताला तोडेर चोरी गरेको थियो। १८ लाख ४ हजार ७५० रुपैयाँ बराबरको चोरी भएको जाहेरी परेको थियो। 

फागुन २८ गते दिउँसो सवा १ बजेतिर शान्तिपथस्थित ठुलढुंगामा ८ लाख ८० हजारको धनमाल चोरी भएको थियो। 

२०८२ वैशाख २५ गते दिउँसो सवा २ बजेतिर विजयपुरस्थित घरमा ढोकाको ताला फोडेर चोरी गरिएको थियो। त्यहाँ ३ लाख ४३ हजार रुपैयाँको धनमाल चोरी भएको प्रहरीमा जाहेरी परेको डीएसपी बस्नेतले बताए। 

यस्तै ०८१ चैत २८ गते दिउँसो पौने १ बजेतिर विजयपुरकै सोतोटोलमा घरमा कोही नभएको अवस्थामा घरको ढोका फोडेका थिए। त्यहाँबाट १४ लाख ४८ हजार २ सय रुपैयाँ चोरी गरेको र २०८१ मंसिर १४ गते दिउँसो साढे २ बजे विजयपुरकै सोताटोलको एक घरबाट १५ लाख ९१ हजार ५६० रुपैयाँ चोरी भएको थियो। 

हालसम्म यो समूहले ६५ लाख १६ हजार ५१० रुपैयाँ बरानबरको धनमाल चोरी गरेको जाहेरी आएको जानकारी प्रहरीले दिएको छ। 

बरामद गरगहना

यी घटनामा ५ जना पक्राउ गरी प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका १० शांखेका २६ वर्षका कट्टाप्प भन्ने सुवास विक यो समूहको मुख्य नाइके रहेको प्रहरीको दाबी छ। 

सुवास ढुंगा, गिट्टी-बालुवाको ठेक्कापट्टा गर्छन्। तर यसअघि पनि उनी चोरैकै आरोपमा पक्राउ परेका थिए।

यसअघि उनले २०७४ जेठ ११ गते देखि जेठ २२ गतेसम्म विभिन्न स्थानबाट १९ लाख ९९ हजार ५६४ रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोप लागेको थियो। प्रहरीले त्यतिबेला पनि उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

२०७४ असार १४ गते उनलाई जिल्ला अदालतबाट ५ वर्ष कैद र ३ लाख ५० हजार ५१५ रुपैयाँ जरिवानाको फैसला भएको थियो। २०७९ जेठ १० गते उनी कैद भुक्तान गरेर छुटेका थिए। छुटेपछि पनि उनले पुरानै धन्दा सुरु गरेको प्रहरीको भनाइ छ। 

सुवासका ठूलाबुवाका छोरा विमल विक पनि चोरीको आरोपमा पक्राउ परेका छन्। सवारी चालक विमल २३ वर्षका छन्। यी दाजुभाइ मिलेर चोरेका गहना पनि आफन्तलाई नै बिक्री गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ।

सुवासका फुपुका छोरा २२ वर्षका गणेश सुनार पनि पक्राउ परेका छन्। तनहुँकै शुक्लागण्डकी नगरपालिका ११ का गणेशले १२ कक्षा पास गरिसकेका छन्। सुवासकै फुपुका अर्का छोरा सुरेश विकलाई पनि प्रहरीले पक्रेको छ। उनी कालिगड हुन्। ३३ वर्षका सुरेश दुर्गाबहादुरको सुनचाँदी पसलका कालिगड हुन्। ५३ वर्षका दुर्गाबहादुर थापा पनि पक्राउ परेका छन्। 

स्याङ्जाको काल्खु घर भई हाल पोखरा महानगरपालिका-१० गौरीमार्ग बस्ने दुर्गाबहादुरले स्याङ्जाको गोल्माकोटमा सुनचाँदी पसल संचालन गरेका छन्। उनी सुवासका मामा हुन्। 

दुर्गाबहादुर यसअघि पनि अपराधमा संलग्न रहेको दाबी प्रहरीको छ। उनी २०५७ मंसिर ५ गते र २०६४ चैत १ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट सानर्वजनिक अपराधसम्बन्धी कसुरमा पक्राउ परेका थिए। 

२०८० असार ६ गते वडा प्रहरी कार्यालय वालिङले उनलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान गरेको थियो। 

सुवासले आफ्ना ठुलावुवाका छोरा भाइ विमल विकसँग मिलेर चोरी गर्ने गरेका थिए। यसरी चोरी गरेका समान मामाको सुनचाँदी पसलमा बिक्री गर्ने गरेको खुलेको छ। 

मामा दुर्गाबहादुरको सुनचाँदी पसलमा काम गर्ने गणेश र सुरेश सुवासकै फुपूका छोरा हुन्। उनीहरू पनि चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। 

आफ्नै नाताभित्र रहेका उनीहरू संगठित रूपमा चोरीमा लागेको प्रहरीको दाबी छ। उनीहरूले घरमा कोही नभएको मौका छोपेर ताला फोडेर चोरी गर्ने गरेको पाइएको छ। 

चोर्न जाँदा उनीहरूले प्रयोग गरेको मोटरसाइकल पनि चोरेको खुलेको छ। सुवास विकले चोरी गर्न जाँदा प्रयोग गरेको ग २२ प ४९८९ नम्बरको एनएस पल्सर मोटरसाइकल सुवासका दाइ नाता पर्ने नरबहादुर विक भएको खुलेको छ। नरबहादुर हाल हातहतियार तथा खरखजना मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका छन्। ‍

चोरीमा ग २१ प ६७५३ नम्बरको स्कुटर पनि प्रयोग भएको छ। उनीहरूले हालसम्म १२ वटा घरमा चोरी गरेको प्रहरीलाई बयान दिएका छन्। पोखराका ९ स्थानमा र तनहुँका ३ स्थानमा चोरी गरेका हुन्। 

चोरी गर्दा सुनचाँदीका गरगहना र नगदलाई बढी प्राथमिकता दिने गरेको पनि पाइएको छ। 

उनीहरूबाट प्रहरीले ठूलो मात्रामा गरगहना बरामद पनि गरेको छ।

प्रहरीले सुनचाँदी पसलबाट एउटा पोतेसहितको र तीनवटा बन्दै गरेका छड्के तिलहरी बरामद गरेको छ। माइली तिलहरी ३ वटा, सानो तिलहरी एउटा, सिक्री एउटा, रातो स्टार पोते ६ वटा, चन्द्र पोते, मोती माला, चन्द्रमा ५/५ वटा बरामद गरिएको जानकारी प्रहरीले पत्रकार सम्मेलनमा दियो। 

नौगेडी एउटा, मंगलसुत्र ४ वटा, गेडी पोते ३ वटा, पञ्चरत्ने माला एउटा, टप ४ जोर, फूली ६ थान, कानको ढुङ्ग्री एक जोर, एकगेडी, पेन्डम माला, सुनका ढिका ५ वटा र सुनका ससना टुक्राहरू पनि प्रहरीले बरामद गरेको छ। 

यस्तै चाँदलीका गकना पनि प्रहरीले बरामद गरेको छ। सानो बाला ३ जोर, ठूलो बाला १ जोर, पाउजू ३ जोर, सिक्री पञ्चरत्ने बाला, सुन गाल्न प्रयोग गर्ने निम्पल, चिम्टी र चाँदीका टुक्राहरू पनि प्रहरीले बरामद गरेको छ। 

उनीहरूलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर कास्की प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad