कोरोना रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्ने अनुमति पाएपछि नेपाली सेनाले आफूले ल्याउने सामानको सूची तयार गर्न थालेको छ।
रक्षा मन्त्रालयले बुधबार नै पत्र पठाएर सेनालाई अत्यावश्यक सामग्रीको सूची बनाउन निर्देशन दिइसकेको छ।
सोही विषयलाई लिएर नेपाली सेना र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच बिहीबार र शुक्रबार छलफल भएको छ।
ल्याउनुपर्ने सामान र समय तोकेर मापदण्ड तयार गरिरहेको उच्च सैनिक श्रोतले नेपाल खबरलाई बतायो।
सेनाले स्वास्थ्य मन्त्रालयका विज्ञहरुसँग बसेर कुन सामान कति चाहिने, त्यो समान कहिलेसम्ममा ल्याउनु पर्ने र कहाँबाट ल्याउने भन्ने खाका तयार गरिरहेको छ।
स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्षा मन्त्रालयले नेपाली सेना मार्फत जीटूजी माध्यमबाट सामान ढुवानी गर्ने निर्णय सरकारले गरिसकेको छ।
रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले मन्त्रिपरिषदको निर्णय अनुसार सेनालाई तयारीको निर्देशन दिँदै बुधबार पत्र पठाएको बताए।
‘स्वास्थ्य मन्त्रायलसँग समन्वय गरी कुन सामान कति ल्याउने, कसरी ल्याउने, जतिसक्दो छिटो प्रक्रिया अगाडि बढाउन भनेका छौं,’ प्रवक्ता सुनारले भने, ‘सेनाले हामीलाई खाका बुझाइसकेको छैन।’
आफूसँग स्टोरमा भएको सामान र अत्यावश्यक सामानको सूची स्वास्थ्य मन्त्रालयले सेनालाई दिनेछ। सेनाले स्वास्थ्यसँग छलफलपछि मन्त्रालयलाई खाका बुझाउने छ। उक्त खाका मन्त्रिपरिषदमा पेस गरिने रक्षा श्रोतले जानकारी दियो।
यसअघि सरकारले कोरोना रोकथामका लागि अत्यावश्यक सामग्री ल्याउने जिम्मा ओम्नी ग्रुपलाई दिएको थियो। तर, सो समूहले स्वास्थ्य सामग्रीमा अनियमितता गरेको, गुणस्तरहीन सामान देखिएपछि सरकारको चर्को आलोचना भएको थियो।
त्यसपछि सरकारले ठेक्क रद्द गरेर सो कम्पनीलाई कालो सूचीमा राखेको छ। कम्पनीको ५ करोड धरौटी पनि सरकारले जफत गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया