समाज


सगरमाथा संवादमा सहभागी हुने उच्चस्तरीय पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइने

सगरमाथा संवादमा सहभागी हुने उच्चस्तरीय पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइने

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १३:५०, काठमाडौँ

नेपालले पहिलोपटक आयोजना गरेको अन्तर्राष्ट्रिय मञ्च ‘सगमाथा संवाद’ मा मुख्य पाँच वटा र सहायक ६ वटा गरी ११ वटा कार्यक्रम हुने भएका छन्। परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी यस संवन्धी जानकारी दिएको हो। 

मुख्यमध्ये पहिलो कार्यक्रमको रुपमा ‘उद्घाटन सत्र’ राखिएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्नेछन् भने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत मन्तव्य दिनेछिन्।

त्यसक्रममा संवाद सम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने र चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डलहरूको नेतृत्व गरेर आउने विशिष्ट पाहुना, कोप-२९ का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले जनाएकी छन्। 

मन्त्री डा. राणाका अनुसार सगरमाथा संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाएकाे भिडिओ सन्देश पनि प्रस्तुत गरिने भएको छ।

उद्घाटन सत्र २ जेठ (१६ मे) विहान ९ः ३० मा शुरू हुने र डेढ घण्टापछि ११ बजे सम्पन्न हुने बताइएको छ। 

दोस्रो सत्र प्लेनरी सेसन हुनेछ। अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने उद्देश्य राखिएको यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको मन्त्री डा. राणाले बताएकी छन्। 

संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुने र यसका लागि सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको बताइएको छ। 

प्रत्येक प्रतिनिधिमण्डललाई पाँच मिनटको बोल्ने समय प्रदान गरिएको छ। जानकारी अनुसार यो सत्र २ जेठमा ११ः३० मा शुरू भई अपरान्ह १ः३० बजे सम्पन्न हुनेछ।

तेस्रो सत्रमा विभिन्न १२ वटा छुट्टाछुट्टै विषयहरूमा संवाद गर्ने कार्यक्रम राखिएको छ। यस सत्रमा राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताहरू सहभागी हुनेछन्। उनीहरुबीचको गहन छलफल एवं विचार आदानप्रदान र विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान र संभावनामा जोड दिने लक्ष्य राखिएको छ। 

यो सत्र डेढ घण्टासम्म चल्नेछ भने प्रत्येक सेसनमा एकजना मोडरेटर, एकजना मुख्यवक्ता र चारजना प्यानेलिष्ट रहनेछन्। यस प्रकारको सेसनमा सबैको आवाजको मुखरित हुने र  युवाको चासो व्यक्त हुनेगरी सकेसम्म बढी युवाहरूलाई सहभागी गराउने योजना बनाइएको छ। यस सेसन अन्तर्गतका कार्यक्रमहरु २ जेठ अपरान्ह २ः ३० बाट सुरू भई ३ जेठ अपरान्ह ४ः३० बजेसम्म सम्पन्न भइसक्नेछन्। 

चौथो सेसनमा बहुआयामिक सरोकारवालाहरुबीच क्षेत्रीय तथा वैश्विक मुद्दाहरुमा छलफल हुनेछ। यो छलफलमा विशिष्ट व्यक्तिहरुले सहभागिता जनाउने परराष्ट्रमन्त्री डा. राणाले उल्लेख गरेकी छन्। जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्ने उद्देश्यले यो सेसन राखिएको हो। 

संवादको अन्तिमसत्रको रुपमा रहेको समापन कार्यक्रम राखिएको छ, जुन ४ जेठ विहान ११ः४५ मा सुरु भई करिव एक घण्टा चल्नेछ।   

मन्त्री राणाले पत्रकार सम्मेलनमा जनाए अनुसार सगरमाथा संवाद कार्यक्रम अन्तर्गत अन्य ६ वटा सहायक कार्यक्रमपनि तय गरिएका छन्। तिनमा माउन्टेन फ्लाइट, हिन्दूकुस क्षेत्रका मन्त्रीहरुको बैठक, वायु प्रदुषण सम्बन्धी कार्यक्रम, पेरिस एग्रिमेन्ट झल्काउने गरी मण्डप, नेपालको अर्गानिक चियाको स्वादपान बज्र इकोस्कूल भ्रमण कार्यक्रम छन्। 

करिब १ सय ७५ जना विदेशी पाहुनासहित ३ सय ५० जनाको सहभागिता रहने कार्यक्रममा १२ मुलुकबाट उच्चस्तरीय सहभागिता हुने बताइएको छ। सम्मेलनमा चीन, भारत, अजरबैजान, पाकिस्तान, माल्दिभ्स, भूटान, बंगलादेश लगायतका मुलुकबाट मन्त्रीस्तरीय प्रतिनिधित्व हुने जानकारी मन्त्री डा. राणाले दिएकी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad