शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९ औँ जन्म जयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ।
बुद्ध जन्मजयन्तीका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिपूर्वक बुद्धजयन्ती मनाउँछन्। बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना एवं प्रवचन गर्ने गरिन्छ।
इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको छोराका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो। उमेर बढ्दै जाँदा उनी मानिसका दुःख देखेर चिन्तित बने। दुस्खको निवारणको उपाय खोज्दै २९ वर्षको उमेरमा उनी दरबार छाडेर तपस्याका लागि निस्किए।
इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बौद्ध गयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरेका थिए। बुद्धत्व प्राप्त गरेपछि नै उनी गौतम बुद्ध बनेका हुन्।
दुःखनाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो। सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए।
४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरेका थिए।
विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ। बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए। यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ।
बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूजा आराधना गर्ने गरिन्छ। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्ध हुन्।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। आज लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम हुँदैछन्।
Shares

प्रतिक्रिया