ad ad

समाज


सम्पादकहरूको वक्तव्य : अनलाइनबाट समाचार हटाउनु आपत्तिजनक, दोषीलाई दण्डित गर्न माग

सम्पादकहरूको वक्तव्य : अनलाइनबाट समाचार हटाउनु आपत्तिजनक, दोषीलाई दण्डित गर्न माग

नेपालखबर
चैत २०, २०७६ बिहिबार १२:५२,

सम्पादकहरूले एक अनलाइनको समाचार सामग्री हटाउन प्रधानमन्त्रीका आईटी सल्लाहकारको प्रत्यक्ष भूमिका रहेको भन्दै यो प्रकरणमा संलग्नहरूबारे शीघ्र छानबीन गरी दोषीलाई दण्डित गर्न माग गरेका छन्।

काठमाडौंप्रेस अनलाइनको समाचार हटाउन वेबसाइट डेभलपर्सलाई प्रयोग गरिएको र केही अनलाइन साइट बन्द गराउन प्रेस काउन्सिलले दिएको निर्देशनप्रति २१ जना सम्पादकहरूले विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

मंगलबार साँझ काठमाडौंप्रेसले प्रधानमन्त्रीका आइटी विज्ञ असगर अली, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज चीनबाट कोरोना भाइरसविरुद्ध स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न भएको दाबी गर्दै एक समाचार प्रकाशित गरेको थियो।

बुधबार बिहानैदेखि ‘माथिको दबाब छ’ भन्दै उक्त सामाचार सामग्री साइटबाट हटाउन पटक पटक डेभलपर कम्पनीबाट दबाब आएको र त्यसलाई अस्वीकार गरेपछि उनीहरूले नै अनधिकृत रुपमा हटाएको काठमाडौंप्रेसले जनाएको थियो।

बिहीबार २१ जना सम्पादकहरूले जारी गरेको विज्ञप्तीमा वेब डेभलपर्सका तर्फबाट समाचार हटाउने कार्यलाई आपत्तिजनक भनिएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘माथिको आदेश भन्दै वेब डेभलपर्सका तर्फबाट समाचार हटाउने यो आपत्तिजनक कारवाहीमा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अली सिरान टेक्नोलोजिजको प्यारेन्ट कम्पनी एफवान सफ्टका एक साझेदार हुनुले सरकारलाई गम्भीर सन्देहमा पारेको छ।’

विज्ञप्तीमा केही अनलाइन समाचार साइट बन्द गराउन प्रेस काउन्सिलले गरेको सिफारिशले मिडियाप्रति सरकारको गलत तथा संविधानको मर्म विपरीत व्यवहार देखिएको उल्लेख गरिएको छ।

‘प्रेस काउन्सिलले अनलाइन साइटहरू बन्द गर्न सिफारिस गर्नु संविधानको भावना विपरीत हो, जसले प्रेसलाई जवाफदेही बनाउने नाममा सरकारको हस्तक्षेप निम्त्याउँछ,’ विज्ञप्तीमा भनिएको छ, ‘अनलाइन मिडियाप्रति एकपछि अर्को यस्तो कारवाहीबाट प्रेस स्वतन्त्रता सीमित हुन जाने ध्यानाकर्षण गराउँछौँ।’

विज्ञप्तीमा सम्पादकहरू अखिलेश उपाध्याय, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, कुन्द दीक्षित, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, युवराज घिमिरे, बसन्त बस्नेत, राजेन्द्र दाहाल, शिव गाउँले, सुधीर शर्मा, सुबास घिमिरे, सञ्जीव सतगैंया, हरिबहादुर थापाले हस्ताक्षर गरेका छन्।

sampadak2

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .