‘नर्सहरु पनि मजत्तिकै डराएका थिए,’ ४१ वर्षीया आती सम्झिन्छिन्, ‘ममा कोरोना भाइरस पोजिटिभ देखिएको खबर उनीहरुले यसरी सुनाएका थिए, मानौँ म मर्न गइरहेकी छु।’
बिरामी भएपछि आती एडिनबरास्थित अस्पतालमा भर्ना भएकी थिइन्। उनमा निरन्तर ज्वरो, खोकी, पेट र छातीको दुखाइ, सास फेर्न मुस्किल हुनेजस्ता लक्षण देखिएका थिए। स्वाद र गन्ध पनि थाहा पाउन छाडेकी थिइन्।
आपतकालीन नम्बरमा फोन गर्दा घरमै बसेर आफ्नो लक्षणको उपचार गर्न उनलाई सुझाव दिइएको थियो। तर, खकारमा रगत देखिन थालेपछि भने उनलाई अस्पताल जान भनियो।
बिरामी परेको १० दिनपछि बल्ल उनी अस्पताल भर्ना भइन्। अस्पताल भर्ना भएको तेस्रो दिन, अर्थात् बिरामी परेको १३ औँ दिन उनले खोक्दा झन् बढी रगत आउन थाल्यो। छाती पनि टमक्क भएर सास फेर्न अझ गाह्रो भयो। ज्वरो झनै बढ्यो। तर, त्यही राति उनलाई बिस्तारै बिसेक हुन थाल्यो।
‘म छक्क परेँ, त्यसपछि ज्वरो फर्केन,’ उनी भन्छिन्, ‘बल्ल आएर मेरो शरीर कोरोनासँग जुध्न थाल्यो। भोलिपल्ट अझै एक दिन यस्तै अवस्था रह्यो भने डाक्टरहरुले मलाई घर पठाइदिने भने।’
‘म ढुक्क भएँ। अस्पताल गएदेखि नै मलाई लागिरहेको थियो, अलि चाँडै भर्ना हुन पाएको भए हुन्थ्यो। कतै ढिला त भएन भनेर म डराइरहेकी थिएँ,’ उनले थपिन्, ‘मैले जिन्दगीमा भोगेको सबैभन्दा भयानक अनुभव थियो त्यो।’
बेलायतमा २९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। अझै हजारौँ बढी संक्रमित भएको हुनसक्ने अनुमान गरिएको छ। यो रोगले बेलायतमा २ हजार ३ सय ५२ जनाको मृत्यु भइसकेको छ।
विश्वभर कोरोनाबाट संक्रमित पौने २ लाखभन्दा बढी मानिस निको भएका छन्। बेलायतमा कति निको भए, स्पष्ट तथ्यांक छैन।
‘म आजै मात्र ओछ्यानबाट उठेर उभिएकी हुँ। मेरो लागि यो निकै ठूलो घटना हो,’ बकिंघमसायरस्थित च्यालफन्ट सेन्ट पिटरकी लु भन्छिन्। उनी ५१ वर्षकी भइन्।
‘गत साताको बुधबार त म मर्छु होला भन्ने सोचिरहेकी थिएँ,’ उनी भन्छिन्, ‘त्यसबेला सास फेर्न पनि सकिरहेकी थिइनँ। मेरो होस गुम्दै गएको थियो।’
उनको घरमा आएका स्वास्थ्यकर्मीले उनलाई अर्धचेत अवस्थामा फेला पारेका थिए। लुको ज्वरो १०४ डिग्री नाघेको थियो। उनको रक्तचाप र अक्सिजनको मात्रा दुवै घटेको थियो। उनलाई पतिसहित अस्पताल कुदाइएको थियो। उनका पतिलाई पनि लक्षण देखिएको थियो। शुक्रबार आएको परीक्षणको नतिजामा उनलाई कोरोनाको संक्रमण देखियो। पछिल्लो नतिजा लु अझै कुरिरहेकी छन्।
अस्पतालमा उनलाई सलाइन चढाइयो। अनेक प्रकारका औषधि पनि दिइयो। बल्ल उनको अवस्था स्थिर बन्यो। सास रोकिएलाजस्तो महसुस हुन छाडेपछि र ज्वरो निको भएपछि लुलाई अस्पतालबाट डिस्चार्ज गरियो।
सबैभन्दा खराब लक्षण देखिएका बिरामीलाई मात्र अस्पताल भर्ना गरिँदैछ। त्यसैले जब २२ वर्षीय रायनले आपतकालीन नम्बरमा फोन गरे, उनलाई घरमै सेल्फ आइसोलेसनमा बस्न सुझाव दिइयो। सास फेर्न गाह्रो नहुन्जेल मानिसहरुलाई घरमै बस्न सुझाउने गरिएको छ।
‘सञ्चो भयो। त्यसैले ढुक्क छु,’ इम्पेरियल कलेज लन्डनमा इन्जिनियरिङका विद्यार्थी रायन भन्छन्। बिरामी भएका बेला खोक्दा रातो खकार आएको, थकित भएको, राति पसिनाले कपडा भिजेको र वाक्वाकी लागेको उनले बताए।
‘म ओछ्यानबाट निस्किन पनि सक्दिनथेँ। भोक पूरै हरायो। पानी पनि मुस्किल पिउन सक्थेँ,’ उनी भन्छन्।
आफू सामान्यतयाः स्वस्थ व्यक्ति हुनाले यस्तो हालत हुँदा छक्क परेको उनी बताउँछन्। यतिबेला उनको एउटै चाहना छ, जतिसक्दो चाँडो आफ्नो देश मलेसिया फर्किने।
५९ वर्षीया जेनी आफैँ चिकित्सक हुन्। उनी फलकर्कमा काम गर्छिन्। उनलाई मल्टिपल स्क्लेरोसिस पनि छ। आफूलाई संक्रमणको शंका लाग्नेबित्तिकै आइसोलेसनमा बसिन् र अहिले उनी निको पनि भइसकेकी छन्।
‘घरअगाडि भ्यानभित्र म दुई साता आइसोलेसनमा बसेँ,’ उनी भन्छिन्, ‘त्यहाँबाट निस्केको पनि एक साता भइसक्यो। यस्तो अनुभव मैले कहिल्यै लिएकी थिइनँ। कोरोना लागेकोमा म ९९.५ प्रतिशत विश्वस्त थिएँ। छातीमा केहीले कसेजस्तो महसुस भइरहेको थियो।’
अझै पनि उनलाई थकाइ लागिरहन्छ। हिँड्दाहिँड्दै सास फेर्न रोकिनुपर्छ। तैपनि उनी किमोथेरापी लिइरहेका आफ्ना पार्टनर र डिमेन्सियासँग जुधिरहेका बुबाको हेरचाहमा फर्किएकी छन्।
कोरोना लागेको बेला निको भइन्छ भन्ने आशा नछाड्न उनी मानिसहरुलाई आग्रह गर्छिन्। साथै लक्षण देखिनेबित्तिकै आफूलाई आइसोलेट गर्न महत्वपूर्ण रहेको उनको भनाइ छ।
‘यो महामारीलाई रोक्न हामी प्रत्येक व्यक्तिले योगदान दिन सक्छौँ,’ उनी भन्छिन्।
आतीले भने बिरामी हुँदा सामाजिक भावना महसुस गर्न पाएकी छन्।
‘छिमेकीहरुले शुभेच्छा पठाउनुभयो। मेरा डाक्टर, साथीहरुले पनि सहयोगको प्रस्ताव गर्नुभयो,’ उनी भन्छिन्, ‘समाज एकजुट भएको देख्दा मलाई आनन्द लागेको छ।’
(द गार्जियनबाट)
Shares
प्रतिक्रिया