समाज


कास्कीको रुपा गाउँपालिकाले गर्‍यो गाउँ छिर्न नदिने निर्णय

कास्कीको रुपा गाउँपालिकाले गर्‍यो गाउँ छिर्न नदिने निर्णय

नेपालखबर
चैत २०, २०७६ बिहिबार ८:८,

कास्कीको पूर्वी भेगस्थित रुपा गाउँपालिकाले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भन्दै गाउँपालिका प्रवेशमा निषेध गरेको छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने कोभिड–१९ को संक्रमणले विश्व नै तहसनहस भएका बेला गाउँपालिकाले मुख्य नाका क्षेत्रबाट आवतजावत नहुने गरी प्रवेश निषेध गराएको हो।

गाउँपालिका प्रवेश गर्ने नौ मुख्य नाकामा एक सुरक्षाकर्मीसहित दुई कोरोनाविरुद्ध परिचालित स्वयंसेवक खटाइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए। उनका अनुसार नाकामा चौबिसै घण्टा स्वयंसेवक एवं सुरक्षकर्मी रहनेछन्। पालिका प्रवेशको मुख्य नाका खोलाको छेउ, पुलचोक, तालवेँसी, पोल्याङ, देउराली फेदी, रामदी, ताकाङजा, पिप्ले र काउरे नाकामा बुधबार साँझदेखि सूचना टाँसेर आवतजावत बन्द गरिएको छ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन गाउँपालिका प्रवेशमा रोक लगाइएको बताउँदै उनले यसबाट गाउँवासीलाई सुरक्षित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। बाहिरबाट गाउँपालिकाभित्र आवतजावत गर्दा कोरोना भाइरस भित्रने जोखिम बढेका कारण पालिकाको १८ गते मंगलबार बसेको विशेष बैठकले प्रवेश निषेध गर्ने निर्णय गरेको बताउँदै अध्यक्ष ओझाले भने, ‘यदि कोही गाउँ प्रवेश गर्दछ भने स्वास्थ्यकर्मीको निगरानीमा १४ दिन क्वारेनटाइनमा अनिवार्य बस्नै पर्दछ।’

गाउँवासीलाई आवश्यक स्वास्थ्य सेवा उपलव्ध गराउन गाउँपालिकाका सातै वडामा सञ्चालित स्वास्थ्यचौकी २४ घण्टा नै खुला गरेर सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए। उनका अनुसार सेवामा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक साधन स्रोतको व्यवस्था गरिएको छ।

गाउँपालिकावासीका लागि आवश्यक औषधि र खाद्यान्न मौज्दात रहेको बताउँदै अध्यक्ष ओझाले थप उपभोग्य वस्तु आपूर्तिका लागि पालिकाको सवारी साधन प्रयोग गरी उच्च सुरक्षाका साथ उपलब्ध गराइने बैठकले निर्णय गरेको उनले जानकारी दिए।

गाउँपालिका वडा नं ५ देउरालीमा स्थापित कोरोना भाइरस क्वारेन्टिन रहेको १४ मध्ये अवधि पूरा गरेर बुधबार छ घर फर्केका छन् भने २५ जनालाई होम क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिए। गाउँपालिकामा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको थियो भने मृत्यु हुने व्यक्तिको कोरोना नभएको टेकु अस्पतालको रिपोर्टमा देखिएको छ।

विश्वव्यापीरूपमा पैmलिएको कोरोनाको सङ्क्रमण रोगथामसँगै जोखिम न्यूनीकरणका लागि पालिकाकाले ६० वर्ष उमेर नाघेका व्यक्तिलाई लक्षित गरी पाँच हजार मास्क वितरण गरिएको बताउँदै उनले विभिन्न संघसंस्थाको सहयोगमा अन्य आवश्यक सरसफाइका सामग्रीसमेत उपलब्ध गराउँदै आएको बताए। गाउँपालिकाभित्र दुई वा सोभन्दा बढीको समूहमा समेत भेटघाटमा बन्देज लगाइएको बताउँदै उपाध्यक्ष गुरुङले नागरिकको स्वास्थ्य, खाद्यान्नलगायतका समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधिको सिफारिसमा गाउँपालिकाले गर्ने व्यवस्था मिलाइएको छ ।

जनप्रतिनिधिको सहयोगमा पालिकाभित्र रहेका मजदुर, गरिब तथा विपन्न वर्गको लागत संकलन गरी आवश्यक खाद्यान्न तथा अन्य सामग्री वितरण गरिने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए। वर्तमान अप्ठ्यारो अवस्थामा लक्षित वर्गलाई राहत उपलब्ध गराउन सबै गाउँवासीको सहयोग रहने विश्वास व्यक्त गर्दै उनले यस्तो विषम परिस्थितिमा राजनीतिभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad