समाज


पहलगाम घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बढायो निगरानी

पहलगाम घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बढायो निगरानी

नेपालखबर
बैशाख २१, २०८२ आइतबार २१:३२, काठमाडौँ

भारतको पहलगाममा २६ जना पर्यटकमाथिको आक्रमणपछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा बढाइएको छ। गत अप्रिल २२ मा भएको आक्रमणमा एक जना नेपाली पनि परेका थिए।

त्यसपछि भारत र पाकिस्तानबिच तनाव बढ्दा नेपालमा पनि हुन सक्ने सुरक्षा चुनौतीलाई लिएर सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो।

सीमा क्षेत्रमा २४ सै घण्टा गस्ती बढाइएको र सीमाना भएर आवतजावत गर्नेहरुको अभिलेखीकरण गर्ने कार्यसमेत कडाईको साथ गरिहरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

सशस्त्र प्रहरीले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन त्यस क्षेत्रका स्थानीय निकायका प्रमुखहरुसँग छलफल समेत गरिरहेको छ। सीमामा आवतजावत गर्नेहरुसँग आवश्यकता अनुसार कागजपत्र जाँच गर्ने र सोधपुछ गर्ने कार्यसमेत कडाईका साथ गरिएको सहप्रवक्ता थापाले बताए।

बाहिनीपतिमा सरुवा भएर गएका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा उच्च निगरानी बढाउन र सीमा क्षेत्र नियमनको लागि थप योजनाका साथ परिचालन हुन निर्देशन दिएका छन्। सीमा जोडिएका बाहिनी मुख्यालयहरुले उच्च प्राथमिकताका साथ सूचना संकलन तथा अप्रेशनल बढाएको सशस्त्र प्रहरीको दाबी छ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानीको लागि झापाको काकडभिट्टा, पर्साको वीरगंज र रुपन्देहीको बेलहिया नाकामा डग स्क्वाड समेत परिचालन गरेको छ।

पहिल्यैदेखि कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सीमाक्षेत्रमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा लामो दूरीको पट्रोललाई पनि निरन्तरता दिइएको छ।

यस्तै भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँगको बाहिनी मुख्यालय, गण, गुल्म र बीओपी स्तरको बैठकमा समेत तेस्रो मुलुकका नागरिकहरुको अवैध आवतजावतलाई रोक्ने बिषय मुख्य एजेण्डाको रुपमा उठेको छ।

एसएसबीसँग पनि समन्वय गरेर निगरानी बढाइएको सहप्रवक्ता थापाले बताए। भारतमा भएको उक्त घटनापछि सशस्त्र प्रहरी प्रधान कार्यालयले निर्देशन तथा परिपत्रसमेत गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad