विराटनगर । उदयपुरमा स्कार्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको ज्यान गएको छ।
दुर्घटनामा दमक नगरपालिकाकै कर्मचारी र जनप्रतिनिधि गरी ६ जना घाइते भएका छन्।
दमक नगरपालिकाका कर्मचारी र वडाध्यक्षसहित जनप्रतिनिधिहरु चढेको मे १ च ३०४० नम्बरको गाडी बिहीबार दुर्घटनामा परेको थियो।
चितवनबाट झापातर्फ जाँदै गरेको सो स्कार्पियो गाडी उदयपुरको कटारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
आज दिउँसो झन्डै साढे ४ बजेतिर मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुर जिल्लाको कटारी नगरपालिका-६ सोमबारेमा स्कर्पियो दुर्घटना भएको हो।
आफैँ अनियन्त्रित भएको स्कारपियो सडक साइडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर खाई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते झापाको दमक नगरपालिका–३ का ५५ वर्षीय बस्नेतको प्रादेशिक अस्पताल कटारीमा उपचारको क्रममा मृत्यु भएको हो।
घाइतेहरूमा सवारी चालक दमक नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका १० बस्ने वर्ष ४९ को राजेन्द्र प्रसाद भण्डारी, दमक १ बस्ने वर्ष ४५ को ज्ञानेन्द्र गौतम, दमक नगरपालिका ६ बस्ने वर्ष ५४ को कमल श्रेष्ठ, दमक २ बस्ने वर्ष ३८ को नबिन खतिवडा र गौरादह नगरपालिका १ बस्ने वर्ष ५४ को भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिए।
Shares

प्रतिक्रिया