समाज


कमान्डमा जान लागेकाहरूलाई आईजीपीको चेतावनी: लोभलालचमा फस्नुभयो भने तपाईंलाई कुनै शक्तिले बचाउन सक्दैन

कमान्डमा जान लागेकाहरूलाई आईजीपीको चेतावनी: लोभलालचमा फस्नुभयो भने तपाईंलाई कुनै शक्तिले बचाउन सक्दैन

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १३:५४, काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले कमान्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकहरूलाई तत्काल परिणाममुखी काम गर्न नसके जुनसुकै बेला फिर्ता गराउने चेतावनी दिएका छन्। 

सोमबार मुख्यालयमा निर्देशन दिँदै उनले भने, ‘सशस्त्र प्रहरीको बर्दी चम्काउने कि यसलाई धूमिल पार्ने भन्ने जिम्मा तपाईंहरूको हातमा छ, त्यसैले संवेदनशील भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्।’

देशको सार्वभौमसत्ता, सीमा सुरक्षामा शून्य गल्तीमा काम गर्न र राजस्व संकलनका लागि २४ घण्टा सक्रिय रहन निर्देशन दिँदै महानिरीक्षक अर्यालले आफ्नो संगठन ठानेर काम गर्न, लोभलालचमा नफस्न र संगठनका नीति-नियम पालना गर्न निर्देशन दिए।

‘देश र समाजका लागि गौरव गर्न लायक काम गर्न सक्नुभएन भने र व्यक्तिगत लोभलालचमा फस्नुभयो भने तपाईंलाई कुनै शक्तिले पनि बचाउन सक्दैन, त्यसको हेक्का राख्नुहोला’, उनले भने।

उच्च मनोबलका साथ देखिने र महसुस हुने गरी काम गर्न र प्रगतिको विवरण प्रत्येक महिना मुख्यालय पठाउन उनले निर्देशन दिए। 

मातहत कर्मचारीले गल्ती गरे सम्बन्धित बाहिनीपतिहरूलाई कारबाही गर्ने चेतावनी दिँदै महानिरीक्षक अर्यालले बाहिनीदेखि गण, गुल्मसम्मका स्थायी कार्यालयमा हरेक ३/३ महिनामा कमान्डको पुनरवलोकन तथा पुनर्मूल्यांकन गरिने र त्यसमा कमजोर देखिए कमान्ड हेरफेर तथा फिर्तासम्म गरिने बताए। 

महानिरीक्षक अर्यालले समुदाय लक्षित विपद् स्वयंसेवक तालिम अझ प्रभावकारी रूपमा तत्काल सञ्चालन गर्न, नयाँ कल्याणकारी योजना ल्याउन र पुराना कल्याणकारी कामलाई निरन्तरता दिन तथा १ महिनाभित्र सबै कमान्डरलाई आफ्ना कार्ययोजना मुख्यालयमा पठाउनसमेत निर्देशन दिए।

सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अझ प्रभावकारी बनाउँदै लैजान तथा समुदायमा विपद् रोकथामका लागि सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै काम गर्न निर्देशन दिँदै महानिरीक्षक अर्यालले बर्दीको साख जोगाउन सचेत गराए। 

राजस्व चुहावट नियन्त्रणमा निर्मम बन्न र कानुनअनुसार काम गर्न निर्देशन दिँदै अर्यालले त्यसको प्रत्यक्ष निगरानी मुख्यालयले गर्ने बताए। 

महानिरीक्षक अर्यालले चेतवानी दिँदै भने, ‘तपाईंको नराम्रा कुरा फिल्डमा देख्न नपरोस्।’

कार्यक्रममा हालै सरुवा भएका कमान्डमा जान लागेका प्रदेशस्थित सशस्त्र प्रहरी बल बाहिनी मुख्यालयका बाहिनीपति, शिक्षालयका समादेशक उपस्थित थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad