चीनबाट ल्याएको र्यापिड टेस्ट किटको गुणस्तरको बारेमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसान्धान परिषदले जाँच शुरु गरेको छ।
स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. खेम कार्कीले महामारीको अवस्थामा प्रयोग गर्ने भनेर ल्याएको सो किटको गुणस्तरका विषयमा प्रश्न उठेपछि परिषदले गुणस्तर जाँच गर्न लागेको बताए।
‘हामीले र्यापिड टेस्ट किट महामारीको अवस्थामा जाँच गर्नका लागि ल्याएका हौं। ठूलो संख्यामा मानिसलाई परीक्षण एकै पटक गर्नुपर्दा प्रयोग हुने हो’, कार्कीले नेपालखबरसँग भने, ‘त्यसको गुणस्तरका विषयमा उठेपछि त्यस विषयमा अनुन्धान परिषदले जाँच्ने छ।’
कार्कीले चीनबाट पहिलो खेपमा ल्याएको किट प्रदेशमा वितरण नगरिएको बताए। ‘त्यसलाई हामीले प्रदेशमा पठाएका छैनौं’ कार्कीले भने, ‘तोकिएको गुणस्तरअनुसार नभए मन्त्रालयले त्यो किटको रकम भुक्तानी गर्दैन।’ गत आइतबार ओम्नी समूहले चीनबाट ल्याएको सामग्रीमा पहिलो खेपमा ७५ हजार वटा ल्याएको छ। सरकारले सो समूहसँग प्रति किट ८ अमेरिकी डलरमा खरिद गर्ने सम्झौता गरेको जनाएको छ।
चीनबाट अन्य देशले आयात गरेको त्यस्तो किटको गुणस्तरको बारेमा समेत प्रश्न उठ्दै आएको छ। ‘मन्त्रालयले यो किटको गुणस्तरको अध्ययन गर्न भनेको छ। हामी काम गरिरहेका छौं’, परिषदमा सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने।
जसको कुल मूल्य ६ लाख अमेरिकी डलर रहेको छ। डा. कार्कीले कोरोना भाइरसको परीक्षण गर्ने पीआरसी मेसिन नभएको निजी संस्थाहरुले सो किटको प्रयोग गरेर महँगो मूल्य लिएर परीक्षण गरिरहेको भेटिएको बताए।
‘सरकारी ल्याबमा बाहेक अन्यत्र गरिएको परीक्षणलाई सरकारले मान्यता दिँदैन’, कार्कीले भने, ‘एक हजार रुपैयाँको किट प्रयोग गरेर १५–१६ हजार रुपैयाँ लिएर परीक्षण गरिरहेको भेटिएको छ। त्यसैले त्यस्तो किटमा परीक्षण नगराउनु हुन आग्रह गरेको हो।’
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न सामग्री खरिदको विषयमा अनियमितताको विषयमा उठिरहेको समयमा किटको कमसल गुणस्तरको किट आयात गरेको भेटिएको हो।
व्यवसायीहरुले भने मिलोमतोमा सरकारी अधिकारीहरुले महँगो मूल्य तिरेको आरोप लगाएका छन्। नेपालले १ करोड ३ लाख ९० हजार ४ सय अमेरिकी डलर बराबरको औषधि तथा मेडिकल उपकरण खरिद गर्न लागेको हो।

प्रतिक्रिया