शिक्षक आन्दोलनको २०औँ दिन चलिरहेको थियो। सोमबार पनि शिक्षकहरूको ठूलो भीड सडकमा निस्किएको थियो। तर, भीडकै माझमा एक व्यक्तिले अचानक शिक्षकविरुद्ध नै नाराबाजी गर्न थाले।
आन्दोलित शिक्षकहरूले तुरुन्तै ती व्यक्तिलाई घुसपैठिया भन्दै समाते। उनलाई गाली मात्रै गरेनन्, कुटपिट र लछारपछार पनि गरे। जसका कारण ती व्यक्तिको कपडा पनि च्यातियो।
अन्तिममा प्रहरीले घेरा हालेर उनलाई समात्यो र त्यहाँबाट बाहिर निकाल्यो।
ती व्यक्ति हुन्, सनोज महत। उनले किन शिक्षककै आन्दोलनमा गएर शिक्षकविरुद्ध नै नारा लगाउन थाले त?
महत आफू सम्पूर्ण अभिभावकको तर्फबाट शिक्षकहरूलाई विद्यालयमा फर्किन आन्दोलनमा गएको बताउँछन्।
‘मेरी छोरी पनि सामुदायिक स्कुलमा पढ्छिन्। छरछिमेकका बच्चाहरू बस चढेर निजी स्कुल गइरहेका छन्। मेरी छोरी भने घरमै बस्नुपरेको छ,’ उनले भने, ‘स्कुल कहिले खुल्ने टुंगो छैन। त्यसैले म सम्पूर्ण अभिभावकको तर्फबाट शिक्षकहरूलाई आफ्नो जायज माग सरकारसँग निरन्तर राख्नुस् तर आन्दोलनको स्वरूप बदलेर बालबालिकाको शिक्षामा ठेस नपुर्याउनुस् भन्न आन्दोलनमा गएँ।’

उनले आफू घुसपैठिया भएको आरोप पनि ठाडै अस्वीकार गरे।
‘शिक्षकहरूले अब विद्यार्थीलाई पढाउनु पर्छ भनेर सन्देश दिन गएको व्यक्ति आफू घुसपैठिया कसरी हुन सक्छ?’ उनी भन्छन्।
शिक्षकहरूको आन्दोलनबाट सबैभन्दा मर्कामा अभिभावक परेको उनको भनाइ छ।
‘शिक्षकहरूलाई लागिरहेको थियो कि सबैभन्दा बढी मार मर्कामा शिक्षकहरू छन्, शिक्षकहरूले आफ्नो समस्या नै देशको सबैभन्दा ठुलो समस्या रहेको सोचेर २० दिनदेखि आवाज उठाइरहेका थिए। तर शिक्षकहरूले आफ्नो आन्दोलनको कारणले गर्दा देशका दशौँ लाख विद्यालय शिक्षामा आबद्ध विद्यार्थीहरू चाहिँ सबैभन्दा ठूलो मारमा परेका छन् भन्ने कुरा ख्याल गरेका छैनन्,’ महतले भने, ‘आफ्ना सन्तान भर्ना हुन नपाएको, स्कुल जान नपाएको कारण अभिभावक पनि आक्रोशित छन्। आभिभावकका पनि माग र मुद्दा हुन सक्छन् भन्ने कुरा शिक्षकहरूले ख्याल गर्नुपर्यो नि!’
यी सबै कुरा बुझाउन शिक्षक आन्दोलनकै बीचमा गएर आफ्ना कुरा राख्दै नाराबाजी गरेको महतले बताए।
आफूमाथि भएको कुटपिट, लछारपछार र प्रहरीकै सामु गरिएको दुर्व्यवहार देखेर छोरी र परिवारलाई चोट परेको उनले सुनाए।
‘हिजो उहाँहरूले जुन होस गुमाउनु भयो र ममाथि अभद्र व्यवहार गर्नु भयो, सो समयमा मैले उहाँहरूलाई संयम अपनाउनको लागि आग्रह गरेर आफ्नो कुराकानी प्रष्ट रूपमा राखिरहेको थिएँ। तर उहाँहरूले सुन्नुभएन,’ मंगलबार नेपालखबरसँग महतले भने, ‘आज पनि म सडकमै थिएँ। तर, आज उहाँहरूले मसँग हात मिलाउनु भयो र परिचय गर्नु भयो, यसले शिक्षकहरू पनि संयम भएर आउनु हुन्छ भन्ने कुरालाई बुझाउँछ।’
महतले शिक्षकहरूलाई कसैले पनि अनैतिक भएर आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन भन्ने सन्देश आफूले दिएको बताए।
‘शिक्षकहरूले मेरो कुरालाई बिस्तारै मनन गर्दै दुई–चार दिनमा विद्यालयमा अध्यापनका लागि जानेमा म आशावादी छु,’ उनले भने, ‘खुला रूपमा आफ्ना मागहरू राख्न पाइन्छ। तर कोही कसैलाई बन्धक राखेर फिरौतीको शैलीमा आफ्ना माग राख्न भने पाइँदैन।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ का परीक्षा सरेको छ। एसईईको उत्तरपुस्तिका जाँच्ने काम पनि रोकिएको छ।
‘उहाँहरूले आन्दोलन गर्ने नै हो भने पनि रचनात्मक ढङ्गले र अहिलेको मोडालिटीलाई परिवर्तन गर्नुपर्छ, विद्यार्थीलाई बन्धक राख्न पाइँदैन,’ महत भन्छन्।

शिक्षकहरूको मागमा विद्यार्थीलाई बेवास्ता गरिएको पनि उनको गुनासो छ।
‘उहाँहरूको एउटै माग पनि विद्यार्थीलाई हित हुने किसिमको छैन,’ उनी भन्छन्, ‘शिक्षकहरूले आफ्नो हित मात्रै हेर्नुभयो।’
तर, त्यसको विरोध आफूले जारी राख्ने उनले बताए।
‘जबसम्म शिक्षकहरू विद्यालयमा पठनपाठनको लागि फर्कनु हुन्न, तबसम्म हामी सशक्त रूपमा सडकबाट प्रतिरोध गरिरहन्छौँ,’ महतले भने।

प्रतिक्रिया