समाज


रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्चमा आज प्रारम्भिक सुनुवाइ

रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्चमा आज प्रारम्भिक सुनुवाइ

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०८२ सोमबार ११:९, काठमाडौँ

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा हिजो परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ हुँदैछ।

आफूलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै लामिछानेले श्रीमती निकिता पौडेलमार्फत् आइतबार सर्वोच्चमा निवेदन दिएका हुन्। 

उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि  न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी तोकिएको छ। 

आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेको छ।

उच्चको आदेश बदर गरी थुनाबाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन्।

बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरेको थियो। तर, उक्त आदेश उच्च अदालतले चैत २२ गते बदर गरेर थुनामै पठाउन भनेको थियो। आदेश आएको केही घण्टामै रवि काठमाडौँबाट पक्राउ परेका थिए। उनी हाल रुपन्देही कारागारमा छन्।

यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही मुद्दाका अभियुक्त छविलाल बन्जाडेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ।

यसमध्ये रवि, छवि र जीबीले गोर्खा मिडिया प्रालि स्थापना गरी त्यस कम्पनीमार्फत गैरकानुनी रूपमा १० करोड ९९ लाख ३६ हजार रकम परिचालन गरेको अभियोगपत्रमा उल्लेख छ। जीबी राई भने फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad