सिरहाको धनगढीमाईमा सञ्चालन गरिएको आँखा शिविरबाट एक हजार ४२३ सर्वसाधारणले निःशुल्क उपचार पाएका छन्। धनगढीमाई नगरपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको साझेदारीमा नगरको विभिन्न वडामा सञ्चालित नौ दिनसम्म चलेको उक्त शिविरबाट उनीहरुले लाभ लिएका हुन्।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विश्वेश्वरप्रसाद यादवका अनुसार प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले धनगढीमाई–१, २, ३, ५, ६, ७, ८, १२, १३ र १४ वडामा शिविर सञ्चालन गरेका थिए। आँखा चिकित्सकहरू डा बन्दना खनाल, डा दीक्षा विष्ट, डा विष्णुहरि मरहठ्ठासहित १८ जनाको टोली उपचारमा खटिएको थियो।
शिविरमा आँखा जाँच गराएकामध्ये तीन सय ७२ जनामा मोतियाविन्दुको समस्या देखिएको तिलगङ्गा आँखा प्रतिष्ठानबाट शिविरमा खटिएका नेत्र सहायक गजेन्द्रकुमार महतोले जानकारी दिए। धनगढीमाई नगरपालिकाको कार्यालयमा वडा नं ४ र १० सहित अन्य वडामा छुटेका आँखाका बिरामीको जाँच गरिने छ।
यसअघि २०७९ फागुनमा पनि नगरपालिकाले तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सहकार्यमा नगर क्षेत्रमा करिब एक साता आँखा जाँच शिविर सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवले बताए। उक्त शिविरमा ५३२ बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको उनले बताए। रासस
Shares

प्रतिक्रिया