ad ad

समाज


महाकालीले छेक्यो घर आउने बाटो!

महाकालीले छेक्यो घर आउने बाटो!

गोकुल जोशी
चैत १८, २०७६ मंगलबार १०:१९,

नेपाल–भारत सीमा बन्द भएपछि सुदूरपश्चिमसँग जोडिएको भारतीय भूमिमा एक हजार बढी नेपाली नागरिक अलपत्र परेका छन्।

भारतमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका नेपाली नेपाल–भारत सीमा नजिकै भारतीय भूमिमा रोकिएका छन्। सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लाका नाकाबाट स्वदेश प्रवेशको अनुमति नपाएपछि घर फर्किन लागेका नेपालीहरु दशगजा क्षेत्रका भारतीय भूमिमा रोकिएका हुन्।

भारतका विभिन्न शहरबाट हिँडेरै सीमा क्षेत्रमा आइपुगेका नेपालीहरु तीन दिन देखि महाकाली पारी अलपत्र परेका छन्। घर छेउमै आइपुगेर पनि नेपाल प्रवेशको अनुमित नपाएपछि उनीहरु सरकारप्रति आक्रोशित बनेका छन्।

सीमा बन्द भएपछि भारतीय भूमि धार्चुलामा रोकिएकाहरुले नेपाल प्रवेश पाउनुपर्ने भन्दै महाकाली पुलपारि नाराबाजी समेत गरेका थिए। प्रवेश अनुमति नपाएर रोकिएकामध्ये अधिकांश सुदूरपश्चिमको दार्चुला, बैतडी र बझाङका छन्।

तीन दिनदेखि अलपत्र परेपछि सोमबार जोखिम मोलेरै महाकाली नदीमा पौडिएर दार्चुला प्रवेश गरेका दुई नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो।

91265485_1367085076809241_5001344276362166272_n.jpgमहाकाली नदी पौडिएर नेपाल प्रवेश गरेका युवालाई नियन्त्रणमा लिँदै प्रहरी ।

नाका प्रवेशको अनुमतिको पर्खाइमा बसेका उनीहरुलाई भारतीय पक्षले नै क्वारेन्टिनमा राखेको छ। दार्चुला जिल्लास्थित महाकाली नदीपारी आवागमन बन्दको समयमा मजदुरी गरी घर फर्किरहेका ५ सय ६३ जनालाई भारतमै क्वारेन्टिनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुवँरले बताए।

‘गृहमन्त्रालयले प्रवेश अनुमति नदिए पछि नेपालीलाई धार्चुलामै क्वारेन्टिनमा राखिएको छ’ सहायक प्रमुख जिल्ला अधिकारी कुवँरले नेपालखबरसँग भने, ‘उनीहरुको व्यवस्थापन अहिले भारतले गरेको छ, हामी पनि त्यहाँको डिएमसँग समन्वय गर्दैछौँ।’

भारतबाट फर्किएकाहरुलाई १४ दिन क्वारेन्टिन राख्नु पर्ने हुन्छ। प्रर्याप्त क्वारेन्टिनको व्यवस्था नहुँदा नाकामा रोकिएकाहरुलाई मंगलवार प्रवेश अनुमति दिइएको छैन। नेपाल प्रवेशको अनुमति नपाए पछि भारतीय भूमिमा नै उनीहरुको व्यवस्थापन गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कुवँरका अनुसार धार्चुलामा रोकिएका नेपालीलाई भारतीय पक्षले खानपान र बसोबासको व्यवस्था मिलाइएको छ। सयौँ नेपाली एकै ठाउँमा रहेकाले उनीहरुलाई विभिन्न चार ठाउँमा व्यवस्थापन गरिएको उनले बताए।

नेपाल प्रवेश गर्न नपाउँदा साना बालबालिका, महिला र वृद्धावृद्धा झन् समस्यामा परेका छन्। उनीहरु नेपाल प्रवेश गर्ने आशामा भारतीय भूमिमा क्वारेन्टिनमा पर्खेर बसिरहेका छन्।

‘तीन दिन भयो, हामी यतै छौँ, कोरोना भाइरसको त्रासमा आफ्नै गाउँ घरमा आएका थियौँ, माहामारीले मरे भने पनि आफ्नै गाउँघरमा मरौँ भनेर आयौँ’ दार्चुलापारी धार्चुलामा रोकिएका दार्चुलाको मार्मा गाउँपालिकाका नरेन्द्र सिंहले भने, ‘तर सरकारले हाम्रो कुरा सुनेन, घर पुगिसकेका आफ्ना नागरिकलाई पनि प्रवेश अनुमति दिएन।’

भारतीय भूमिमा रोकिएका नेपाली नागरिकले नाका प्रवेशको अनुमति माग गरेका छन्। यस्तै बैतडीसँग सीमा जोडिएको भारतीय भूमिमा पनि २ सय ५ नेपाल मजदुर रोकिएका छन्। उनीहरुलाई पनि भारतमा नै क्वारेन्टिनमा राखिएको हो।

‘झुलाघाट क्षेत्रमा सयौँ मानिस आएका छन्, अहिले उनीहरुलाई प्रवेश अनुमति दिन सकिने अवस्था छैन’ बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नेपालखबरसँग भने, ‘क्वारेन्टिनमा राखिएको छ, उनीहरुको उचित व्यवस्थापनका लागि भारतीय पक्षसँग समन्वय भइरहेको छ।’

यता कैलालीको सीमावर्ती बजार पलियामा समेत सयौँ नेपाली नागरिक रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

‘सयौं मानिस सीमावर्ती बजार पलियामा रोकिएका छन्, पछिल्लो समयमा कसैलाई पनि प्रवेश अनुमित दिइएको छैन्, अहिले त्यतै क्वारेन्टिनमा छन्’ उनले भने।

यता कञ्चनपुरको दोधारा–चाँदनीस्थित गडीगोठ भएर आएका ६२ जनालाई सोमवार शसस्त्र प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिएर गड्डाचौकी पु-याइएको छ। उनीहरु अहिले गड्डाचौकी नाकामा छन्।

‘उनीहरुलाई सीमामा चेकजाँच गरेर नेपाल प्रवेश गराउने तयारी भएको छ।’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने, ‘यही क्वारेन्टिनमा राखिने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .