समाज


बाढीको जोखिमबारे थाहा पाउन महाकालीमा कलर कोडसहितको गेज मिटर जडान हुने

बाढीको जोखिमबारे थाहा पाउन महाकालीमा कलर कोडसहितको गेज मिटर जडान हुने

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १५:८, काठमाडौँ

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले महेन्द्रनगरस्थित महाकाली नदीमा कलर कोडसहितको गेज मिटर स्थापना गर्ने भएको छ। बाढीको पूर्वसूचनाका लागि गेज मिटर जडान गर्न लागिएको हो।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहका अनुसार स्थानीय पालिका र गैरसरकारी संस्थाको सहकार्यमा गेज मिटर स्थापनाको कार्यअघि बढेको हो।

‘कलर कोडसहितको गेज मिटर स्थापनाको काम सुरु गरिसकेका छौँ एक÷दुई दिनभित्रै काम सकिन्छ’, शाहले भने, ‘कलर कोडसहितको गेज मिटरले यहाँका स्थानीयले सजिलैसँग नदीको जलस्तर थाहाँ पाउनेछन्।’

उनका अनुसार उक्त मिटरले नदीको सतहअनुसार बाढीको जोखिम सङ्केत गर्न हरियो, पहेँलो, सुन्तला र रातो रङमार्फत जानकारी दिनेछ। 

‘यसबाट तटीय क्षेत्रका जनताले विपद्को पूर्वतयारी गर्न सजिलो हुनेछ’, उनले भने, ‘यसले यहाँका जनताले सजिलैसँग आफ्नो आखाँले हेरेर तुरुन्त बाढीको जोखिमबारे थाहा पाउने र सुरक्षित स्थानमा जान सजिलो हुने गरी काम गरेका छौँ।’ 

उनले हरियो रङले न्यून जोखिमलाई जनाउने र पहेँलो रङले चेतावनी तह पुग्दैछौँ भन्ने जानकारी दिने बताए।

त्यसैगरी सुन्तला रङले अब खतराको नजिक पुग्दै छौँ भन्ने सङ्केत गर्नेछ भने रातो रङले अब खतराको सङ्केत दिने उनले बताए। उनका अनुसार दोधारा चाँदनीको कुतियावरस्थित महाकाली नदीमासमेत कलर कोडसहितको गेज मिटर स्थापनाका लागि अध्ययन भइरहेको छ।

कुतियाकवर बाढीबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्र हो। दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले गेज मिटरले पुलबाट हिँड्ने व्यक्तिले सहज रूपमा देख्न र बुझ्नसक्ने बताए। ‘भीमदत्त र दोधारा चाँदनीका मानिस हिँड्ने मुख्य बाटो महाकाली पुल भएकाले यहाँ स्थापना भएको गेज मिटरले यहाँका जनताले सजिलै पानीको सतह थाहा पाउनेछन्।’

उनले भने, ‘यसले पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्न र विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्छ।’

कलरकोडसहितको गेज मिटरले बाढीको पूर्वतयारीमा लाग्न सहज हुने तटीय क्षेत्रका स्थानीय बताउँछन्।

‘जल तथा मौसम विज्ञान विभागले सामाजिक सञ्जालमा दिने मौसमको पूर्वाअनुमान बुलेटिन र मोबाइलमा आउने सूचनाले बाढीको जोखिमबारे थाहा पाउछौँ’, यहाँका स्थानीय रमेश कडायतले भने, ‘अब रङ हेरेर थाहा पाइने भएपछि पूर्व तयारीमा लाग्न सजिलो हुन्छ।’ रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad