समाज


‘तपस्वी’ रामबहादुर बमजनलाई बाल यौन दुरुपयोग मुद्दामा सफाइ

‘तपस्वी’ रामबहादुर बमजनलाई बाल यौन दुरुपयोग मुद्दामा सफाइ

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १६:५१, काठमाडौँ

तपस्वी भनेर चिनिएका रामबहादुर बमजनलाई बाल यौन दुरुपयोग मुद्दामा उच्च अदालतले सफाइ दिएको छ।

जिल्ला अदालत, सर्लाहीबाट दोषी ठहर भएपछि महोत्तरी कारागारमा कैद भुक्तान गरिरहेका बम्जन उच्च अदालतको आदेशसँगै रिहा भइसकेका छन्।

उनलाई उच्च अदालत, जनकपुरले गत चैत ६ गते नै सफाइ दिने फैसला गरेको रजिस्ट्रार प्रेम खड्काले बताए। उच्च अदालतका न्यायाधीश नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले जिल्लाको फैसला उल्टी हुने ठहर गरेको हो।

२०८१ असार १० गते सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको थियो। असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरीवाना तोकिएको थियो।

यसै मुद्दामा मकवानपुरको थाहा नगरपालिका वडा नं ७ घर भएका तोप्चेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र सिन्धुलीको मरिण गाउँपालिका वडा नं ५ घर भएका जेबी गुरु भन्ने जितबहादुर तामाङले भने जिल्ला अदालतबाटै सफाइ पाएका थिए।

यी दुई जनामाथि बमजनलाई लुकाउन र भगाउन भूमिका खेलेको अभियोग थियो।

आफ्नो आश्रममा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग बमजनमाथि थियो। बाराको निजगढ नगरपालिका १२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।

एकजना पीडितका अनुसार घटना २०७३ साल साउन २० गते रातिको हो। उनी २०७१ सालदेखि बम्जनको आश्रममा आनी बनेर बसेकी थिइन्। तर त्यसको दुई वर्षपछि २०७३ साउन २० गते राति ९ः१० बजेको समयमा बम्जनले उनलाई ललाई फकाई प्रलोभनमा पारेर बोलाएर आफू सुत्ने कोठामा लगेको अभियोगपत्रमा उल्लेख थियो।

कोठाको ढोकाको चुकुल लगाएर प्लास्टिकको कार्पेटमा लडाएर उनलाई रुन कराउनसमेत नसक्ने गरी मुख थुनेर, डर, त्रास धम्की दिएर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। त्यसपछि पनि पीडित एक्लै भएको मौका छोपी पटकपटक यौन सम्पर्क राखी यौन सन्तुष्टि प्राप्त गरेको तथा बाल यौन शोषण गरेको आरोप छ।

ती किशोरीले आफूमाथि पटकपटक यौन शोषण गरेपछि आफू आश्रमबाट भागेको बताएकी छन्। आश्रमबाट भागेर उनी काठमाडौँ पुगेकी थिइन्। त्यसपछि उनी काठमाडौंमै बसिन्।

पछि कागज गराउँदा सोही आश्रममा रहेकी अर्की महिलाले पनि घटना लगतै पीडितले आफूलाई सुनाएको बताएकी थिइन्।

पीडितले आफूलाई बम्जनले दिएको पीडा र यौन शोषण सहन नसकी आफू आश्रमबाट भागेको बताएका उनले बयानका क्रममा भनेकी थिइन्।

अदालतमा उपस्थित गराएर बयान गराउँदा बम्जनले आफूमाथि लागेका आरोपको इन्कार गरेका थिए। बम्जनले अदालतमा आफू २०६२ सालको जेठ महिनादेखि सुरुमा बाराको रतनपुरी जंगलमा करिब १० महिना ध्यान गरेको बताएका थिए। १० महिना पिपलको रुखमुनी बसेर ध्यान गरेपछि ज्ञान प्राप्त गरेको उनले बयान दिएका थिए।

त्यसपछि बारा जिल्लाकै हलखोरी जंगलमा करिब ८ वर्ष बसेर ध्यान गरेपछि सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १२ मा रहेको पत्थरकोट आश्रममा आएर ध्यानमा बसेको उनले बताएका थिए।
त्यहाँबाट सिन्धुलीको पहिरेमा जंगलको बीचमा रहेको आश्रममा ध्यान गरेको र त्यसपछि सिन्धुपाल्चोकको आश्रममा गएर बसेको उनले बयानका क्रममा भनेका छन्।

२०८० पुस २६ गते सर्लाही अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

बमजन २०८० पुस २४ गते साँझ काठमाडौँको हात्तीगौँडास्थित निवासबाट पक्राउ परेका थिए। आफूलाई लिटिल बुद्ध बताउने बमजनको घरबाट प्रहरीले १५ देशका मुद्रा पनि बरामद गरेको थियो। 

विलासी जीवनशैली भएका उनको घरमा बरामद विदेशी मुद्रा मात्र ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबर थियो।

खानतलासीका क्रममा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ नगद भेटिएको थियो। नेपाली र विदेशी मुद्रा जोड्दा ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ हुन्थ्यो।

यसमा पनि उनीविरुद्ध छुट्टै मुद्दा दर्ता भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad