ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट बागलुङ आएको चिकित्सकको टोली स्वास्थ्यकर्मीहरुसँग संवाद नै नगरी फर्किएको छ।
५० थान पिपिई, २० थान नमूना संकलन किट, स्यानिटाइजर र मास्क धौलागिरि अञ्चल अस्पताललाई बुझाएर फर्किएको हो।
स्वास्थ्य विभागले पठाएको सामग्री लिएर डा.झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपाली सोमबार बिहान बागलुङ पुगेका थिए। डा.गौतम स्वास्थ्य विभागका बालरोग तथा खोप महाशाखाका प्रमुख र नेपाली वरिष्ठ जनस्वास्थ्य अधिकृत हुन्।
‘उहाँहरु आउने खबरले बागलुङमा विदेशबाट आएका संक्रमित युवतीसँगको सम्पर्कमा आएकाहरुको नमूना संकलन हुने आशा जागेको थियो,’ अञ्चल अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले भने, ‘तर, उहाँहरु सामान मात्रै छाडेर हिँडेकाले त्रासमा रहेको बागलुङले राहत महसुस गर्न सकेको छैन।’
टोलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई स्वास्थय सामग्री बुझाएर फर्केको अस्पताल व्यवस्थापन समितिका सदस्य शर्माले जानकारी दिए।
उनीहरुसँग अस्पतालका चिकित्सक र व्यवस्थापन समितिका सदस्यले समस्या राखेका थिए। सांसद डा.सूर्य पाठकले काठमाडौंँबाट बागलुङका लागि १०० थान पिपिई लिएर जनशक्ति हिँडेको बताइए पनि अस्पतालमा भने ५० थान मात्रै ल्याइएको शर्माले बताए।
उनीहरुले आवश्यक परामर्श गर्ने र कोरोना संक्रमित युवतीको परिवारको स्वाब संकलनमा सहयोग गर्ने आश स्थानीयले गरेका थिए।
अपुरो भेण्टिलेटर, अस्पतालले लिन मानेन्
प्रादेशिक स्वास्थ्य निर्देशनालयले पठाएका स्वास्थ्य सामग्री बागलुङ आइपुगेका छन्। अञ्चल अस्पतालमा पठाइएका सामग्रीमध्ये भेण्टिलेटर भने अस्पतालले लिन मानेन।
भेण्टिलेटरमा पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न इन्कार गरेको हो। ‘ब्याट्री, ब्याकअप, मिटरलगायत केही सामग्री अपूर्ण रहेछन्, हामीले अलग्गै राखेका छौंँ’, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले भने, ‘शायद सामग्री पूरा होला, अनि त्यसपछि बुझौँला।’
कोरोनाका बिरामीलाई श्वासप्रश्वासमा जुनसुकै बेला आइपर्ने समस्याका लागि भेण्टिलेटरको आवश्यकता हुन्छ। सघन उपचार कक्ष (आइसियू) नभएकाले भेण्टिलेटरको प्रयोग पूर्ण नभए पनि यसले उपचारमा सघाउने पोखरेलले बताए।
भेण्टिलेटरका विषयमा अस्पतालले निर्देशनलायलाई जानकारी गराइसकेको छ। निर्देशनालयले पठाएका २५ थान पिपिई, आठ थान भिटिएम, स्वाब संकलन किट, मास्क, स्यानिटाइजरलगायत सामग्री प्राप्त भएको उनले बताए।

प्रतिक्रिया