समाज


कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य

कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य

सांकेतिक फोटो


नेपालखबर
चैत ३०, २०८१ शनिबार २१:८, बेनी (म्याग्दी)

म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा दुई विद्यालयको नतिजा शून्य भएको छ। बेनी–१ रत्ने चौरको भानु माध्यमिक विद्यालय र वडा नं ३ भकिम्लीको बालप्रिय शारदा आधारभूत विद्यालयको नतिजा शून्य भएको हो।

नगरभित्रका सामुदायिक २४, संस्थागत आठ र एउटा उज्यालो वैकल्पिक विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी भएकामध्ये दुई विद्यालयबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेका नगरको शिक्षा शाखाका अधिकृत कमलप्रसाद ढकालले जानकारी दिए। उनले पालिकाले सञ्चालन गरेको परीक्षामा समग्रमा गतवर्षको तुलनामा नजितामा सुधार देखिए पनि दुई विद्यालयको नतिजा भने निराशजनक भएको बताए।

ढकालका अनुसार भानु माविबाट ११ विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना मौका परीक्षामा सहभागी हुनेछन् भने १० जना अनुत्तीर्ण भएका छन्। बालप्रिय विद्यालयबाट सहभागी सातमध्ये चार जना मौका परीक्षामा सहभागी हुनेछन् भने तीन जना अनुत्तीर्ण भएका नगरको शिक्षा शाखाले जनाएको छ।

‘कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालनका लागि एउटै प्रश्नपत्र तयार गरिएको थियो। साथै फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष नियुक्त गरी परीक्षा सञ्चालन गरिएको थियो। उत्तरपुस्तिका ‘कोडिङ’ गरेर परीक्षण गरिएको थियो। परीक्षामा एक संस्थागत र नौ सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ’, शिक्षा शाखाका अधिकृत ढकालले भने।

परीक्षामा सहभागी आठ सय ८४ विद्यार्थीमध्ये छ सय ४१ उत्तीर्ण र दुई सय ३७ विद्यार्थी अनुत्तीर्ण भएका शिक्षा शाखाले जानकारी दिएको छ। शाखाकाअनुसार बढीमा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीका लागि सञ्चालन हुने ‘ग्रेड’ वृद्धिको परीक्षामा एक सय ७३ विद्यार्थी सहभागी हुनेछन्। परीक्षामा गणितमा तीन सय ६१, अङ्ग्रेजीमा एक सय ६३, नेपालीमा एक सय ३९, विज्ञानमा दुई सय २४ र सामाजिकमा एक सय ६३ जनाअनुत्तीर्ण भएका छन्।

ढकालका अनुसार गतवर्ष कक्षा ८ को परीक्षामा अनुत्तीर्ण भएकामध्ये पाँच विषयमा पाँच÷पाँच अङ्क र दुई विषयमा दुई÷दुई अङ्क ग्रेसमार्क (मापदण्ड नपुगेकाले थपेर दिने अङ्क) दिँदा ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यस वर्ष ग्रेसमार्क नदिँदा पनि ७२ दशमलव ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

उत्तीर्ण प्रतिशतका आधारमा गत वर्षभन्दा नतिजामा सुधार भए पनि शून्य र ५० प्रतिशत विद्यार्थीसमेत उत्तीर्ण नहुने विद्यालयको शैक्षिक अवस्थाले गम्भीर बनाएको नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताए। उनले कमजोर शैक्षिक अवस्था भएका विद्यालयको गुणस्तर सुधार गर्न नगरपालिकाको नेतृत्वसँगै स्थानीय सरोकार भएका निकाय र विद्यालयसँग सम्बन्धित पक्षबीच छलफल र अन्र्तक्रिया गरी योजना बनाएर अघि बढ्ने जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad