समाज


पुरिएको १८औँ शताब्दीको भैरवहिटी काठमाडौँ महानगरले गर्‍यो उत्खनन्, भेटियो ढुंगेधारा

पुरिएको १८औँ शताब्दीको भैरवहिटी काठमाडौँ महानगरले गर्‍यो उत्खनन्, भेटियो ढुंगेधारा

नेपालखबर
चैत २७, २०८१ बुधबार १८:३९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले १८औँ शताब्दीको भैरवहिटी उत्खनन् गरेको छ।

काठमाडौँ महानगरपालिका-७, गंगाहिटी मार्गमा रहेको भैरवहिटी पुरिएको अवस्थामा रहेको जानकारी प्राप्त भएपछि उत्खनन् गरिएको महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'ले जानकारी दिए।

बालेनका अनुसार, हिटी पुरिएको गुनासो आएपछि अनुगमन गर्दा हिटीमाथि दुई तले पक्की संरचना बनाइएको र उक्त संरचना टोल सुधार समितिले भोगचलन गर्दै आएको पाइएको थियो। 

हिटी पुरेर बनेको भवनको माथिल्लो तलामा टोल सुधार समितिको कार्यालय थियो भने तल्लो तलमा केही सटर भाडामा लगाइएको थियो।  

महानगरको सम्पदा तथा पर्यटन विभागले टोल सुधार समितिसँग समन्वय गरेर उक्त भवन भत्काएर हिटी उत्खनन् गरेको बालेनले जानकारी दिए।  

'वडास्तरीय दिगो विकास उपभोक्ता समितिसँग सम्झौता भई विभागले उत्खनन् तथा साइड क्लियरेन्सको कार्यादेश दिएको थियो,' उनले भनेका छन्, 'सोहीअनुसार उपभोक्ता समितिले साइड क्लियरेन्सको कार्य सम्पन्न गरेको थियो। विभागले २०८१ चैत १० गतेदेखि भैरव हिटीको उत्खननको काम सुरु गरेको हो। दैनिक १० जना कामदारको संलग्नतामा उत्खनन् कार्य अगाडि बढाइएको थियो। हालसम्म हिटीको 'माअप्पा' (मुख्य पर्खाल) र ढुङ्गेधारा भेटिएको छ।'

७ फिट गहिरो खनेपछि धारासहितका संरचनाहरू पत्ता लागेको महानगरको भनाइ छ। 

'पुराना अभिलेखहरू अनुसार, भैरव हिटी अठारौँ शताब्दीमा निर्माण गरिएको हो भने यसको जीर्णोद्धार विसं १९४० मा भएको उल्लेख गरिएको छ,' बालेनले भनेका छन्, 'अभिलेख अनुसार, धाराको लम्बाइ २५ फिट ३ इन्च र चौडाइ १५ फिट रहेको छ। यसैगरी, विसं २०३६ मा काठमाडौं महानगरपालिकाले तयार पारेको अभिलेखअनुसार, ढुंगेधाराको पूर्वतर्फ बारी, पश्चिमतर्फ गल्ली र उत्तर तथा दक्षिणतर्फ पनि बारी रहेको उल्लेख गरिएको छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad