समाज


यी ३ दिन पानी र हिउँ पर्ने सम्भावना (भिडिओ)

यी ३ दिन पानी र हिउँ पर्ने सम्भावना (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
चैत २६, २०८१ मंगलबार १८:५१, काठमाडौँ

आज (मंगलबार) देखि पर्सि (बिहीबार) सम्म देशभर विभिन्न स्थानमा पानी र हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद्ले बताएका छन्। 

विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले मंगलबार (चैत २६ गते) दिएको जानकारीअनुसार बिहीबार (चैत २८ गते) सम्म देशव्यापी रूपमा हिमपात र वर्षा हुने सम्भावना देखिएको हो। 

जसअनुसार चैत २६ गते कोसी प्रदेशका पहाडी र तराई क्षेत्र, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा  मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने देशका बाँकी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ। सो दिन देशको उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। 

भिडिओ:

यस्तै चैत २७ गते बुधबार पनि देशभरि पानी पर्ने सम्भावना छ। विशेषगरी कोसी प्रदेश र मेधस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ। हिउँको कुरा गर्नुपर्दा देशभरि नै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। 

वरिष्ठ मौसमविद् कँडेलका अनुसार चैत २८ गते कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ भने देशका बाँकी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ। हिउँको कुरा गर्नुपर्दा देशभरि नै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ।

पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको पानीको कणसहितको हावाको प्रभावका कारण यस्तो मौसमी अवस्था देखिएको मौसमविद् कँडेलले बताइन्।   

हालको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (मंगलबार बेलुकी) कोसी प्रदेश (संखुवासभा, सोलुखुम्बु), बागमती प्रदेश (दोलखा, सिन्धुपाल्चोक, रसुवा), गण्डकी प्रदेश (कास्की, बागलुङ, म्याग्दी, पर्वत) र लुम्बिनी प्रदेश (रोल्पा, प्युठान, पाल्पा ) आसपासका क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

साथै आज राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad