ससाना नानीहरु पढ्ने कक्षा कोठालाई खाली गरियो। कोठामा दुई बेन्चलाई जोडेर त्यसमाथी प्लाइउड टाँसियो। त्यसमाथी बिस्तारा राखियो। एउटा बेड र अर्कोको दूरी लामो राखिएको छ।
दुई कोठामा ८ वटा बेड तयार भए। बस्नेका लागि खानपिनको व्यवस्था त्यहिँ नै छ। पिउनको लागि पानी हरेक बिस्तारामा छुट्टाछुट्टै।
सुरक्षाकर्मी र स्वास्थकर्मीले उनीहरुको निगरानी गर्छन्। स्थानीय जनप्रतिनिधि मुख्यतः संयोजनमा खटिएका हुन्छन्।
यो अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकास्थित वडा नम्बर ७ मा रहेको विद्याविनोदमा माध्यमिक विद्यालयको दृष्य हो।
यी कोठाहरु कुनै विशेष कार्यक्रम वा उत्सवका पाहुना वा पर्यटकलाई तयार गरिएको हैन। यी त कोरोना भाइरस (कोभिड–१९) रोकथामको लागि तयार गरिएका क्वारेन्टिन हुन्। जहाँ केहि दिनयता विदेशबाट आएका वा अब आइपुग्ने गाउँकै मानिसहरु केहि दिन एकान्तवासमा बस्नेछन्।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा पनि छिरेपछि पुरै मुलुक लकडाउन (बन्दाबन्दी)मा गएको छ।
अहिलेसम्म पाँच जना कोराना भाइरस संक्रमित भेटिदा झन्डै साढे दुई करोड जनसंख्या घरभित्रै बस्न बाध्य छ। यस्तो अवस्थामा विदेशबाट गाउँ छिर्नेहरुलाई यी बेड तयार गरिएका हुन्।
‘लकडाउनको अवस्थामा कोही गाउँ आएपुगे यही क्वारेन्टिनमा राखिने छ,’ अर्घाखाँची, पाणिनी गाउँपालिका, वडा नम्बर ७ का अध्यक्ष गुनाखर अधिकारी भन्छन्, ‘यहिबीचमा गाउँमा पनि कसैलाई संक्रमणको शंका लागेमा १४ दिनसम्म यहीँ राखिने छ।’
यति मात्र होइन वडामा कारोना भाइरस संक्रमणको रोकथामको लागि अन्य धेरै काम गरिएको छ। जस्तो कि बाहिरबाट गाउँमा आउनेको विवरण राखिएको छ।
अध्यक्ष अधिकारीका अनुसार उक्त वडामा कोरोना भाइरस संक्रमणपछि भारतबाट गाउँ छिर्नेको संख्या ४५ छ भने तेस्रो मुलुक दुबई, कतार, मलेसियाबाट आउनेको संख्या ११ छ। साथै, काठमाडौं, बुटवल जस्ता सहरबाट गाउँ छिर्नेको संख्या २ सय २५ जना छ।
यी सबैलाई निगरानीमा राखिएको छ। लकडाउन नहुँदै घर पुगेका लागि घरमै सुरक्षित अवस्थामा बस्न भनिएको छ।
यस्तो प्रयास पाणिनीमा मात्र होइन मुलुकभरका अधिकांस स्थानीय तहमा भएका छन्। माइकिङ गरेर जनचेतना फैलाउनेदेखि, क्वारेन्टिन वार्ड र राहत कोषसम्म बनाइएका छन्।

पर्वत मोदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष विमल लामिछानेले राहत कोषदेखि जनचेतना फैलाउनेसम्मका काम गरिरहेको बताए।
गाउँगाउँमा पहिलो काम जनप्रतिनिधी, स्वास्थकर्मी, सामाजसेवीको टोलीले गाउँमा माइकिङ गरेर नयाँ निर्णय र सूचना जानकारी गराउने, प्रचा बाँड्ने, स्थानीय एमफम रेडियो मार्फत जानकारीमूलक संदेश प्रसारण गरिएको छ।
टोलटोलमा प्रहरी गस्ती छ। बाहिर निस्किएको देखिएमा वा अटेर गरेमा प्रहरीलाई खबर गर्ने र नियन्त्रण गर्ने काम भएको छ।
अझ व्यवस्थित होस् भनेर वडास्तरीय कोराना भाइरस रोकथाम समिति गठन गरिएका छन्। अधिकारीका अनुसार पाणिनी सातमा पनि स्वास्थ्य शाखाको संयोजक सदस्य, वडा अध्यक्ष, ५ जना वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधी, रेकक्रसका प्रतिनिधी, पत्रकार प्रतिनिधी, सामाजसेवीसहित १५ सदस्यीय समिति बनेको छ।
पाणिनीको यस वडामा जस्तै अन्य सात वडामा पनि यसैगरी काम गरिएको छ। सबै वडाको स्कुलमा क्वारन्टिन बेड बनाइएको छ भने अन्य सन्देशमूलक गतिवधिहरु भइरहेका छन्।
स्थानीय तहबाटै महामारी रोकथामको लागि भनेर बजेट व्यवस्था भएको छ। स्थानीय तह कोरोना रोकथाम समिति बनाएर काम भइरहेको छ।
गाउँपालिका र वार्डको समन्वयमा यी सबै काम भइरहेको र सबैमा एकरुपता ल्याउने प्रयास भइरहेको अधिकारीले बताए।
त्यसो त केन्द्रीय सरकारअन्तर्गत गृह मन्त्रालयले चैत १० गते कोरोना भाइरस रोकथामको लागि गाउँपालिका समन्वय समिति गठन गर्न निर्देशन दिएको थियो।
सोही निर्देशन बमोजिम गाउँपालिकाको एक समिति र प्रत्येक वडामा एक एक समिति बनेका छन्। जस्तो कि पाणिनी गाउँपालिकाको अध्यक्षको संयोजकत्वमा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, राजनीतिक दलका प्रतिनिधी, रेडक्रस सोसाइटीका प्रतिनिधी, सामाजसेवी, पत्रकार महासंघका प्रतिनिधी, शिक्षकहरु समेटेर समिति बनेको छ।
मुलुकभरका स्थानीय तह र जनप्रतिधीहरुले आ–आफ्नो क्षेत्रमा कोरोना भाइरस रोकथामका लागि विभिन्न प्रयास गरिरहेका छन्।
‘यस्तै काममा हिडिरहँदा हामी आफै घरभित्र बस्न पाएका छैनौं,’ अधिकारीले भने, ‘नेतृत्व लिएपछि गाउँको सुरक्षाको लागि काम गर्नुपर्छ।’
कतिपय ठाउँमा लामो लकडाउनको अवस्थामा काम नपाएका मजदुरका लागि सहयोगका प्रयास भएका छन्। गण्डकी प्रदेशको पर्वत जिल्ला मोदी गाउँपालिकामा केही वडामा मजदूरकालागी कोषहरु स्थापना भएका छन्।
उक्त गाउँपालिकका वडा नम्बर ६ अध्यक्ष विमल लामिछानेले लकडाउनकै अवस्थामा भोकै बस्न नपरोस् भनेर ३ लाख रुपैयाको राहत कोष बनाइएको बताए।
‘दिनभरी काम गरेर बेलुका खाने मजदुरका लागि भोकै बस्न नपरोस् भनी पहिलो चरणमा ३ लाखको कोष बनाएका छौं,’ लामिछानेले भने, ‘आवश्यकताअनुसार यसलाई बढाउदै जानेछौं।’
मजदुरलाई कामको अभावका बेला यही कोषको प्रयोग गरेर उनीहरुलाई खाद्यान्न वितरण गरिनेछ।
लामिछानेको पहलमा पशुपति निमावीमा ६ बेडको क्वारन्टिन बनाइएको छ।
साथै, गाउँमा हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षण समेत भइरहेको छ। उनका अनुसार अहिलेसम्म ३ हजार जनाको स्वास्थ्य परीक्षण भइसकेको छ।
‘स्वास्थ्यकर्मीको टिम पालो मिलाएर २४सै घण्टा खटिरहेका छन्,’ लामिछानेले भने, ‘जनप्रतिनिधीको हिसाबले पनि उहाँसँग बस्ने, मनोबल बढाउने काम गरिरहेका छौं।’
मोदी गाउँपालिकामा अहिलेसम्म भारतलगायत तेस्रो देशबाट १७ जना आएका छन्। उनीहरु माथी निगरानी राख्दै अरु पनि कोहि भएमा जानकारी दिन सूचना समेत जारी गरेका छन्। गाउँपालिकाको बजेट मार्फत यो सबै काम गरिरहेको उनले बताए।

कोरोना भाइरसको संक्रमण फैलन सक्ने त्रास हुनासाथ मुलुकभर मास्कको अभाव भयो। गाउँगाउँमा अझ त्यो कसरी पुगोस्। तर, समस्यालाई सामाधान गर्ने स्थानीय तहका आफ्नै उपाय छन्।
यसको उदाहरण पर्वत जिल्लाको विहादी गाउँपालिकाले देखाएको छ। गाउँपालिकाका अध्यक्ष कमल भुसालका अनुसार गाउँमा मास्कको अभाव हुन थालेपछि गाउँमै कपडाको मास्क बनाउन सुरु भएको बताए।
स्थानीय व्यक्तिहरुकै सहयोग लिएर कपडाका मास्क सिलाउन सुरु गरिएको हो।
‘मुलुकलाई नै समस्या छ भने हामीले आफुले सक्ने प्रयास गर्नुपर्छ,’ नेपालखबरसँग कुरा गर्दैै भुसालले भने, ‘केहि नहुनुभन्दा कपडाको मास्कले पनि केहि काम गर्ला की भनेर सानो प्रयासस्वरुप मास्क बनाइरहेका छौं।’
बिहादी गाउँपालिकाका प्रत्येक वडामा १० बेडको क्वारन्टिन बनाइएको छ। बाहिरबाट गाउँमा कोही नयाँ मानिस आएपछि त्यही बेडमा जानुपर्ने नियम बनेको छ।
उक्त गाउँपालिकामा बाहिरबाट फागुन मसान्तसम्म ५० जना भित्रिएका थिए भने चैत लागेपछि ४० जना भित्रिएका छन्।
चैतमा गाउँ छिरेकालाई घरभित्रै क्वारन्टिनमा बस्न लगाइएको छ। उनीहरुलाई सम्झाइ बुझाइ राखिएको भुसालले बताए।
त्यस्तै, गाउँगाउँमा माइकिङ र पर्चा छरेर आवश्यक जानकारी गाउँलेलाई दिइएको छ। एक वार्डबाट अर्को वाडमा जान नपाइने नियम लागु गरिएको छ।
‘विवद् व्यवस्थापन समितिको शनिबारको बैठकले कुनैपनि वहानामा एक वार्डबाट अर्को वार्ड जान नपाइने नियम बनाइएको छ,’ अध्यक्ष भुसालले भने, ‘यो अवधिमा माइत वा मामाघरको नाममा पनि हिड्न पाइने छैन।’
यो संकटको अवस्था कहिलेसम्म होला आंकलन गर्नसक्ने अवस्था छैन। यही बाध्यतालाई बुझेर आफै सावधान बस्ने हो भने छिटो समस्या समाधान हुन सहयोग पुग्ने उनको बुझाइ छ। त्यहि कुरा गाउँवासीलाई बुझाउने प्रयासमा छन् स्थानीय प्रतिनिधिहरु।
मुलुकमा संघीयता लागु गरिसकेपछि ७५३ वटा स्थानीय तह बनेका छन्। देश केहि हप्तायता कोरोना भाइरस संक्रमणको महामारीसँग लडिरहेका बेला अधिकांश स्थानीय तहका जनप्रतिनिधीहरु पनि केन्द्रीय नीतिअनुसार र आआफ्नै ढंगबाट समेत सक्रियरुपमा लागिपरेको देखिन्छ।
देशभरका गाउँपालिकाका वडादेखि महानगरपालिकासम्म कोरोना भाइरस रोकथाम समन्वय समिति बनाएर अभियान नै चलाइएको छ।
भारत र बिभिन्न देश तथा मुलुकभित्रैका ठूला शहरबाट समेत धेरै मानिस आआफ्ना गाउँ फर्केका कारण पनि स्थानीय तहको भूमिका यतिबेला महत्वपूर्ण बनेको हो।
स्थानीय सहर र गाउँमा आफ्नै पहलमा कसरी कोरोना संक्रमण उन्मूलन गर्न सकिन्छ? पढ्नुहोस्, यो एउटा उदाहरणः
एउटा सानो सहरले १४ दिनमै यसरी गर्यो कोरोना उन्मूलन
प्रतिक्रिया