ललितपुरमा पत्रकारहरुको लागि विपद् व्यवस्थापन सम्बन्धी एकदिने तालिम आयोजना गरिएको छ। गोदावरी नगरपालिका ३ को सहयोग तथा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको समन्वयमा शुक्रबार जिल्लामा क्रियाशील पत्रकारको लागि तालिम आयोजना गरिएको पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरी कार्कीले जानकारी दिए।
बागमती प्रदेशसभा सदस्य उर्मिला लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकारको क्षमता अभिबृद्धिमा पर्याप्त लगानी गर्नुपर्नेमा सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन्। लामाले पत्रकारको क्षमता अभिवृद्धिमा राज्यले पर्याप्त ध्यान नदिएको बताइन्।
‘पत्रकारको उचित पारिश्रमिक र सेवासुविधाका साथै क्षमता अभिबृद्धिमा राज्यका निकायहरुले ध्यान दिनुपर्छ, ’ उनले भनिन्, ‘बागमती प्रदेशका योजना बनाउँदै गर्दा हामी यी विषयलाई सम्बोधन गर्नेछौँ।’
कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विपद् जोखिम न्युनिकरणमा सबैको साझा दायित्व हुने बताए। ‘त्यसमा पनि पत्रकारिता क्षेत्रको भूमिका अझ महत्वपूर्ण हुन्छ,’ उनले भने।
गोदावरी नगरपालिका-३ का अध्यक्ष सानुराज (राज) घिमिरेले विपद्बाट जोगिन नागरिक पनि सचेत बन्नुपर्नेमा जोड दिए। ‘सञ्चार माध्यमले नागरिकलाई विपद्बाट सुरक्षित हुने ढंगले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ, ’ उनले भने।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी र सशस्त्र प्रहरी बल दक्षिणकाली गण सातदोबाटोका प्रहरी उपरीक्षक (एसपी) राजेश लामिछानेले विपद्को बेला सुरक्षालाई पहिलो प्राथमिकता दिएर पत्रकारिता गर्नेतर्फ ध्यान दिन सञ्चारकर्मीलाई आग्रह गरे।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरी कार्कीले जिल्लामा क्रियाशील पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि महासंघले ध्यान दिने प्रतिवद्धता व्यक्त गरे।
तालिमका सहभागीहरुलाई प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपदपछि जोखिम न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा पूर्व चेतावनी प्रणाली, स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना, समावेशी बिपद जोखिम न्यूनीकरणलाई विकास प्रक्रियामा मूल प्रवाहीकरण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि अन्तर स्थानीय तह सहकार्य, विपद् पूर्व तयारी र प्रतिकार्य योजना, विपद् जोखिम व्यवस्थापनका मानवीय सिद्धान्तहरु, मूलभूत मानवीय मापदण्ड र लैंगिक समानता र सामाजिक समावेशीकरण, खुल्ला क्षेत्रको पहिचान र संरक्षण तथा शिविर समन्वय तथा शिविर व्यवस्थापन, जोखिमको वित्तिय व्यवस्था र जोखिम हस्तान्तरण संयन्त्र र स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन कार्ययोजनाहरुको मार्गचित्र सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरिएको थियो।
Shares

प्रतिक्रिया