राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताउँदै संविधानले दिएको अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कारको बिर्सिए जनतालाई स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
‘लामो संघर्ष, त्याग र बलिदानबाट जनता आफैँले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो। तर, संविधानले प्रदान गरेको अधिकार प्रयोग गर्दा कति जिम्मेवार हुनुपर्छ भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ’ राष्ट्रपति पौडेलले भने।
रेडियो नेपालको हीरक महोत्सवको बुधबार उद्घाटन गर्दै राष्ट्रपतिले, ‘संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा हाम्रै संविधानले एउटा लोकतान्त्रिक संस्कृति र संस्कारको अपेक्षा गरेको छ भन्ने पनि बिर्सन नहुने बताए। संविधानको यो व्यवस्था, मर्म र भावना हामीले भुल्यौं भने नेपाली जनतालाई स्वीकार्य नहुने उनको भनाई थियो।
राष्ट्रपति पौडेलले स्वतन्त्रताका नाममा हुने हिंसा, तोड़फोड़, आगजनी र लूटपाट सर्वदा निषेधित रहेको पनि स्पष्ट पार्दै नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेको बताए।
नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चारजगतको महत्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर नै संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएको राष्ट्रपति पौडेलको भनाइ थियो।
केही दिनअगाडि काठमाडौंमा भएको घटनाको क्रममा जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै होनाहार पत्रकार र नागरिकको मृत्यु हुनु दुःखद भएको बताए।
राष्ट्रपति पौडेलले आफू र आफ्नो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको पुस्ता भएको बताउँदै समाचार र कैंयन शिक्षा, जनचेतना, मनोरञ्जनात्मकलगायतका कार्यक्रम आफ्नो स्मृतिमा आजपर्यन्त मीठो सम्झना बनेर झञ्कृत भइरहेको उल्लेख गर्र्नु। लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चार माध्यमको विकास र विस्तारले गति लिएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
राष्ट्रपति पौडेलले २००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना भएको बताउँदै २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँ–गाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे। उनले रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आजका दिन रेडियो नेपाल हुनुमा कोइरालाको लोकतान्त्रिक चेत र मूल्यमान्यता यसको मुख्य कारण भएको बताए।
कार्यक्रममा बरिष्ठ संगीतकारहरू रत्नकुमारी गुरूङ, रत्न बेहोशी, मोहनप्रसाद जोशीलाई सम्मान गरिएको थियो। साथै, गायक रामकृष्ण दुवाल र नन्दकृष्ण जोशीलाई राष्ट्रिय स्रष्टासम्मान प्रदान गरिएको थियो।
Shares

प्रतिक्रिया