समाज


राप्रपाका सांसद दीपक बोहराको निधन

राप्रपाका सांसद दीपक बोहराको निधन

नेपालखबर
चैत १९, २०८१ मंगलबार ११:२१, काठमाडौँ

राप्रपाका सांसद दीपक बोहराको निधन भएको छ। 

राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको उनका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए। 

७३ वर्षीय बोहरा गएको संघीय निर्वाचनमा रुपन्देहीबाट निर्वाचित भएका थिए। 

रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित उनले ०७९ काे निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए। त्यतिखेर बोहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत पाएका थिए।

बोहरा गएको साढे तीन वर्षदेखि बोल्न नसक्ने ढंगले बिरामी भएका थिए। कोभिड-१९ संक्रमणपछि उनको स्वरनलीमा समस्या आएको पारिवारिक स्रोतले जनाएको छ।

२०३६ र २०४२ मा राष्ट्रिय पञ्चायत सदस्य भएका उनी पञ्चायतकालमै पनि ५ पटक मन्त्री भएका थिए।

बोहरा २०६४ सालको संविधानसभा चुनावमा पराजित भए पनि २०७० मा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। प्रतिनिधि सभा निर्वाचन, २०७४ मा नेकपा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए।

२०३८ मा पर्यटन सहायकमन्त्री, २०३८ मै पर्यटन राज्यमन्त्रीमा बढुवा भएका उनी २०४० मा पुनः पर्यटन राज्यमन्त्री भए। २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री भएका उनी २०४४ मा मन्त्रीमा बढुवा भए।

मुलुक गणतन्त्रमा प्रवेश गरेपछि पनि उनी तीनपटक मन्त्री भए। २०६७ सालमा वन तथा भूसंरक्षण मन्त्री भएका उनी २०७२    मा श्रम तथा रोजगार मन्त्री, २०७३    मा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्री भएका थिए।

गत फागुनमा मात्र राप्रपा नेता बोहराकी एक मात्र छोरी ४४ वर्षीया जेनी चाँदनी बोहरा ‘ग्यारेट’को निधन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad