राजनीति


आफ्नै घरमा त्यत्रो हत्याकाण्ड मञ्चन गर्न सक्नेले जनताका छोराछोरी मार्न केही जस्तै मान्दैनन्: प्रचण्ड

आफ्नै घरमा त्यत्रो हत्याकाण्ड मञ्चन गर्न सक्नेले जनताका छोराछोरी मार्न केही जस्तै मान्दैनन्: प्रचण्ड

नेपालखबर
चैत १७, २०८१ आइतबार २०:३१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा भएको २ युवाको हत्याको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको बताएका छन्।   

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नै घरमा त्यत्रो हत्याकाण्ड मञ्चन गर्न सक्नेले जनताका छोराछोरी मार्न त केही जस्तो नठान्ने टिप्पणी गरे। 

‘दुई जना होनहार युवाको हत्या भयो, त्यसको लागि जिम्मेवार ज्ञानेन्द्र शाह नै हो’, उनले भने, ‘आफ्नै घरमा त्यत्रो हत्याकाण्ड मञ्चन गर्न सक्नेहरूले जनताका छोराछोरी मार्ने कुरालाई त केहीजस्तै मान्दैनन्। अहिले सर्वत्र आवाज उठेको छ। ज्ञानेन्द्र शाहलाई छुट दिन हुँदैन भनेर जनस्तरबाटै आवाज उठेको छ।’

यही चैत १५ गते राजावादीले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बन्दा काठमाडौँको कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक मारिएका थिए। महर्जनलाई प्रहरीको गोली लागेको थियो भने पत्रकार रजकलाई जिउँदै जलाइएको थियो। 

माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्रवादी राजनीतिक दलहरूले अब शाहलाई छाडा छाड्न नसकिने निष्कर्ष निकालेको पनि सुनाए। 

‘हामी सबै राजनीतिक दलले भनेका छौँ– उनलाई छाडा छोड्न सकिँदैन। जनता र पार्टीहरूले देखाएको उदारताको नाजायज फाइदा उठाएर फेरि आतंक, फेरि गुन्डागर्दी, फेरि हत्या, फेरि आततायी काम गर्छन् भने जनताले उनलाई छुट दिँदैन’, उनले भने, ‘तपाईंहरूले सुन्नुभयो होला, मैले काठमाडौँको सभामा भनेको थिएँ- आफ्नै कुबुद्धिले गर्दा ज्ञानेन्द्र शाहले नागार्जुनमा के भोग्न पर्‍यो, जनताको उदारताले भोग्न त पाएका छन्, अझै मूर्खता गरे भने भोग्ने दिनै सकिन्छ। यो कुरा उनलाई हेक्का रहोस्। हामीले त्यो भनेका छौँ।’ 

विसं २०५८ जेठ १९ गते राति ९ बजे नारायणहिटी राजदरबार राजा वीरेन्द्रको वंशै नाश हुने गरी हत्या गरिएको थियो।

तर रोचक कुरा के थियो भने त्यहीँ रहेका ज्ञानेन्द्रका छोरा पारस शाहलगायत उनीहरूका सन्तानलाई भने एउटा काँडाले पनि कोरेन। जतिबेला ज्ञानेन्द्र भने पोखरामा थिए। यसैकारण यो हत्याकाण्ड राजगद्दी हत्याउन ज्ञानेन्द्रले नै गरेको आरोप दलहरूले लगाउने गरेका छन्।

यद्यपि त्यो भयानक दरबार हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad