नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको रिट निवेदनको पेसी मंगलबार तोकिएको छ।
सर्वोच्च अदालतले आज आइतबार पेसी तोकेको भए पनि सुनुवाइ नभएपछि मंगलबार पेसी तोकिएको हो।
आज रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेको थियो।
हितेन्द्रदेव शाक्यका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी वकिल रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएको कारण ‘हेर्न नमिल्ने’ मा परेको हो।
विद्युत् प्राधिकरणका नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट पनि सोही इजलासमा परेको थियो। त्यसैले उक्त रिटमा पनि मंगलबार नै सुनुवाइ हुनेछ।
शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि आज अदालत बोलाएको थियो।
सर्वोच्चले दुवै रिटका विपक्षीहरूसँग लिखित जवाफ पनि मागेको छ।
पदावधि बाँकी छँदै सरकारले गत सोमबार बर्खास्त गरेपछि कुलमान सर्वोच्च पुगेका हुन्।
यस्तै नवनियुक्त कार्यकारी निर्देशक शाक्यले आफ्नो पुरानो रिटमा पहिला निर्णय गरिनुपर्ने माग गरेका छन्।
Shares

प्रतिक्रिया