शरीरको ७० प्रतिशत भाग जलेका सुरेश रजकलाई उनको शव हेरेरै चिन्न सकिँदैन। पूर्वराजा समर्थकले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्दा नजिकैको घरमा आगो लगाइदिए। त्यही घरबाट दृश्य कैद गर्दागर्दै आगोमा जलेका ३३ वर्षीय रजकको जलेको अवस्थामा शव भेटियो।
उनको कम्मरभन्दा माथिको चिन्नै नसकिने गरी जलेको छ। शुक्रबार साँझ परिवार र उनी कार्यरत एभिन्युज टेलिभिजनका सहकर्मीले पहिचान गरेपछि पोस्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको थियो।
पहिचान भए पनि प्रहरीले शव उनकै हो भनेर प्रमाणित गर्न डीएनए परीक्षण गराउने भनेको छ। धेरै आफन्त तथा शुभचिन्तक रजकको शव त्रिवि शिक्षण अस्पतालमा कुरिरहँदा परिवार भने एभिन्युज टेलिभिजनको कार्यालय परिसमा भावविह्वल अवस्थामा छ।
उनीहरु टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारसँग कुराकानी गर्न आए पनि कुराकानी गर्न सकिरहेका छैनन्।
विवाहको करिब ६ वर्षमै श्रीमान् गुमाएकी रजककी श्रीमती सुजेन रजक पनि भावविह्वल अवस्थामा टेलिभिजनमा आइपुगेकी छिन्।
रजकका साथी तथा पत्रकार सचिन श्रेष्ठका अनुसार, रजक चन्द्रागिरिमा ६ महिनाअगाडि मात्रै सरेका थिए। आमाबुवा गुमाएका रजक ताहाचलबाट नयाँ घर बनाएर चन्द्रागिरि नगरपालिकामा सरेका थिए। उनी श्रीमती, माइला दाइ र भाउजूसहित सो घरमा बस्दै आएका थिए।
रजकले ५ वर्षअगाडि माउन्टेन टेलिभिजनबाट क्यामेरा पर्सनको रुपमा पत्रकारितामा सुरु गरेका थिए। करिब एक वर्ष जति माउन्टेन टेलिभिजनमा काम गरेर उनी २०७७ मा एभिन्युज टेलिभिजनमा आबद्ध भएका थिए। विगत ४ वर्षदेखि एभिन्युज टेलिभिजनको क्यामेरा तथा भिडिओ विभाग प्रमुख रहेका रजक पत्रकारितामा फक्रिनै नपार्ई अस्ताएका छन्।
एक्सक्लुसिभ भिडिओ खिच्न ढुंगा बज्रिरहेको भवनमा पसेका थिए सुरेश
शुक्रबार पूर्वराजा पक्षधरहरुले तीनकुनेमा गरेको प्रदर्शनको रिपोर्टिङ गर्न पुगेका थिए, रजक।
प्रदर्शन उग्र बन्यो। प्रदर्शनकारीले नजिकैको मार्बल हाउस रहेको भवनमा ढुंगा हानेर घरका सिसाहरु फुटाउन थाले। रजक त्यतै हानिए। उनीसँगै अरु क्यामेरा पर्सनहरु पनि थिए।
सिसा फुटेर छियाछिया भएका घरभित्र पसेर प्रदर्शनकारीहरु सामान बाहिर निकाल्न थाले। रजक यी सबै गतिविधि क्यामेरामा कैद गर्दै थिए। भवनभित्रको दृश्य र भवनको फुटेको झ्यालबाट बाहिरको हिंस्रक दृश्य उनले कैद गरिरहे।
रजक पसेको घरको छेवैको घरको छतबाट रिर्पोटिङ गरिरहेका पत्रकार विक्रम श्रेष्ठ छतबाटै रजकसँग कुरा गरेको बताउँछन्।
रजक भिडियो खिच्न व्यस्त रहेका कारण श्रेष्ठले धेरै कुरा गर्न भने पाएनन्। आफू पनि रिपोर्टिङमै लागे। उनले सामाजिक सञ्जालमा भिडिओ राख्दै रजक बसेको घरमा ढंगा हान्न थालेपछि आफू बसेको घरबाट निस्किएको बताए।
उनका अनुसार, घरबाट निस्किन नपाउँदै रजक पसेको घरमा प्रदर्शनकारीले आगो लगाए। त्यही घरबाट अन्य पत्रकारहरु भागिरहँदा रजक भने निस्किएनन्। आगो दनदनी बलिसकेपछि खोजी गर्दा सम्पर्कविहीन भइसकेका थिए।
सँगै गएका सहकर्मीले रजक सम्पर्कविहीन भएको खबर न्युजरुममा पठाए। त्यसपछि उनको खोजी हुन थालेको थियो।
प्रदर्शनकारी तितरबितर भइसक्दासमेत रजक सम्पर्कमा नआएपछि एभिन्युजका प्रधान सम्पाद केदार कोइराला सहितको टोलीले रजकको खोजी गर्दै अन्तिमपटक उनी देखिएको ठाउँ (आगो लागेको घर) मा पुगे। चौथो तलाको एउटा कोठाभित्र एउटा शव आधा जलेको अवस्थामा भेटियो।
त्यो शव तिनै रजकको थियो।
Shares

प्रतिक्रिया