समाज


राजावादीको आन्दोलन: राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोलीमाथि पनि आक्रमण

राजावादीको आन्दोलन: राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोलीमाथि पनि आक्रमण

नेपालखबर
चैत १६, २०८१ शनिबार ६:२९, काठमाडौँ

राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ। 

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा आन्दोलरत पक्षलाई आफ्ना प्रदर्शन र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै हिंसात्मक गतिविधि बन्द गर्न अनुरोध गरेका हुन्। 

कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै आयोगले सरकारलाई  हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याइ कारबाही गर्न आग्रह गरेको छ। 

‘समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले आज चैत १५ गते उपत्यकामा गरेको प्रदर्शन र आमसभाको आयोगले चार वटा उच्चस्तरीय टोलीहरू बनाइ अनुगमन गरेको थियो’, विज्ञप्तिमा भनिएको छ,  ‘काठमाडौँको तीनकुनेमा राजतन्त्र समर्थकद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको अनुगमनबाट पाइएको छ।’

आयोगले अनुगमन गर्दा प्रदर्शनकारी तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँवानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको, व्यक्तिको घरमा ढुङ्गा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको जनाएको छ। 

आयोगले झडपमा परी प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका जनाएको छ। प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन, तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेका दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुङ्गा प्रहार गरेका आयोगले आयोगको विज्ञप्तिमा उल्लेख छ।

अनुगमनका क्रममा हिँडेको आयोगको अनुगमन टोलीमाथि प्रदर्शनकारीबाट कोटेश्वरमा साङ्घातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएको पनि प्रवक्ता पोखरेलले बताए। 

‘प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहराको प्रयोग र हवाई फायर गरेको तथा व्यक्तिको निजी आवास प्रयोग गरी अश्रु ग्यास प्रहार गरेको देखिएको छ’ पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

आयोगले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भएता पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्यमान्यताविपरीत हुने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad