समाज


भैँसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई निवास सुविधा दिने निर्णयविरुद्ध रिट

भैँसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई निवास सुविधा दिने निर्णयविरुद्ध रिट

भैँसेपाटीमा निर्माण भएको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको आवास। फाइल तस्बिर


नेपालखबर
चैत १३, २०८१ बुधबार १४:१०, काठमाडौँ

ललितपुरको भैँसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई संरचना बनाएर आवास सुविधा दिनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

राज्यबाट दोहोरो सुविधा लिन नमिल्ने जिकिरसहित अधिवक्ता चन्द्रप्रसाद भुसालले सर्वोच्चमा बुधबार रिट दायर गरेका हुन्। रिट बुधबार दर्ता भएको र चैत १५ गते पहिलो पेसी तोकिएको अधिवक्ता भुसालले नेपालखबरलाई जानकारी दिए।

कानुनमा नभएको सुविधा दिने व्यवस्था मन्त्रिपरिषद्बाट निर्णय गरेर दिएकोले त्यो निर्णय बदर गर्नुपर्ने उनले रिटमा दाबी गरेका छन्।

उनले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर रिट दायर गरेका छन्। रिट दर्ता गर्दै सर्वोच्च अदालतले चैत १५ गते बिहान १० बजेका लागि पेसी तोकेको छ।

‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ३(१) प्रदेश प्रमुखको आवासको लागि नेपाल सरकारले सम्बन्धित प्रदेशको राजधानीमा सरकारी घरको बन्दोबस्त गर्नेछ भन्ने कानुनी व्यवस्थाबाट के स्पष्ट हुन्छ भने प्रदेश राजधानीमानै प्रदेश प्रमुखको लागि आवास सुविधा उपलब्ध हुन्छ संघीय राजधानीमा आवासको दोहोरो सुविधा लिन पाइँदैन,’ रिटमा भनिएको छ, ‘​सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १७ मा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम निर्णय गर्दा सम्बन्धित पदाधिकारीले गरेको निर्णय कुन-कुन कुरामा आधारित छ भन्ने कानुनी व्यवस्थालाई अन्देखा गरी ऐन कानुनविपरीत गरिएको मन्त्रिपरिषद्को निर्णय गैरकानुनी र असंवैधानिक छ।’

ललितपुर महानगरपालिका वडा-१८ र २५ भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको लागि २७ रोपनी १२ आनाभन्दा बढी क्षेत्रफलमा विलासितायुक्त आवास निर्माण गरिएको छ। उक्त आवासमा ७ वटा भवनमा १४ वटा ब्लक तयार पारिएको छ। भवन निर्माणमा ८५ करोड बढी रकम खर्च भएको छ।  

रिटमा प्रदेश प्रमुखको आवासमा मात्रै मासिक तीन लाखसम्म खर्च हुने, मुख्यमन्त्रीको लागि आवासबाहेकका सुविधा खर्च प्रतिमहिना करिब चार लाखसम्म हुने अनुमान गरिएको छ।

यी संरचनाहरू निर्माण गरी प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूलाई केन्द्र र प्रदेश गरी दोहोरो सुविधा प्रदान गर्दा संविधान, कानुन तथा राज्यको आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन भएको दाबी रिटमा गरिएको छ।  

त्यस्तै सार्वजनिक पद धारण गर्ने व्यक्तिले राज्यबाट दोहोरो सुविधा लिन नपाउने निर्णय पनि उनले रिटमा उल्लेख गरेका छन्।  

‘नेपाल सरकार मन्त्रिपरिषद्ले २०७२ चैत १६ निर्णयले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले दोहोरो सुविधा लिन नपाउने निर्णय गरिसकेको छ। प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूले आफ्नोआफ्नो प्रदेशमा नियमानुसार आवास सुविधा लिइरहेका र संघीय राजधानीमा पनि नियमित आवास सुविधा लिइरहेका छन्,’ रिटमा उल्लेख छ, ‘दोहोरो सुविधाले करदाताको पैसाको अनावश्यक खर्च गराउँदै आर्थिक अनुशासनको उल्लङ्घन भएको छ। प्रदेश प्रमुख तथा मुख्यमन्त्रीलाई उचित मात्रामा आवास सेवा-सुविधा उपलब्ध गराउने प्रावधान गरिएको भए पनि दोहोरो सुविधा लिन पाउने व्यवस्था छैन। अत: कुनै सार्वजनिक पदाधिकारीले दोहोरो सुविधा लिन नपाउने संविधान, संघीय ऐन तथा प्रदेश ऐनमा स्पष्ट कानुनी व्यवस्था रहेकोमा सो कानुनको विपरीत दोहोरो आवास सुविधा प्रदान गर्ने कुनै कानुनी आधार छैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad