नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक जालझेल गरेको बताएका छन्। बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले ओलीबाट पटकपटक जालझेल र षडयन्त्रको सिकार भएको बताएका हुन्।
‘सिंहदरबार गएर टीआरसीबारे टुंग्याए लगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन,’ प्रचण्डले भने, त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो। फेरि एकपटक निकै ठूलो जालझेल भएको जस्तो मलाई भयो।’
गत असार १७ गते बहान कांग्रेससँग सहमति गर्नुअघि केपी शर्मा ओलीले प्रधानमन्त्री रहेका प्रचण्डलाई स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने भनेर ढुक्क पारेका थिए। तर, सोही दिन मध्यराती ओलीले आफू प्रधानमन्त्री बन्नेगरी कांग्रेस सभापति देउवासँग ७ बुँदे सहमति गरेका थिए। त्यही सहमतिअनुसार प्रचण्ड सरकार ढलेको थियो।
प्रचण्डसहित प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेता बसेर आइतबार टीआरसीमा सहमति जुटाएको बताएका थिए।
प्रचण्डले कुलमान घिसिङ हटाउन ओलीले जालझेल गरेको भन्दै त्यसबारे जवाफ नदिएसम्म संसद् चल्न नदिने बताए।
‘एकदुईदिन पर्खेको भए पनि हुन्थ्यो। अब प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ नदिएसम्म हाउस चल्न सक्तैन भनिएको छ। प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ,’ प्रचण्डले थपे।
उनले थपे, 'उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ। स्पष्टीकरण चित्तबुझ्दो भयो, तुरुन्तै हाउस चल्छ। स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अगाडि बढ्छ।
प्रचण्डले टीआरसीको विषयमा सिंहदरबारमा शीर्ष नेतासहितको छलफलमा के भएको थियो भन्नेबारे विस्तृतमा जानकारी पनि गराए।
'म यो पटक पनि चिन्तित छु। टिआरसीका लागि भनेर पटकपटक प्रधानमन्त्रीले खबर गर्नुभयो। मैले ठिकै छ, टिआरसीका लागि त सबैको चासो छ। देशकै आवश्यकताको विषय पनि हो। भनेर म गएँ,' उनले भने, 'कुलमानजीको बारेमा पटकपटक हामीले सार्वजनिक रुपमा भनेका थियौँ, अब चार पाँचमहिनापछि उहाँको समय सकिँदैथ्यो बेकारमा। फेरि जनमत पनि उहाँको पक्षमा राम्रो छ। उहाँले गरेको पनि राम्रो काम हो। उहाँले गरेको राम्रो कामका लागि पुरस्कृत गर्नुपर्ने मान्छेलाई अपमानित गर्नु हुँदैन भनिएकै थियो।'
शीर्ष नेतासहितको छलफलमा कुलमानको विषयमा एक शब्द पनि कुलमानको कुरा ननिस्किएको उनको भनाइ छ।
'म गएको दिन एकशब्द कसैले चर्चा गरेको पनि होइन। विलकुल टिआरसीका बारेमा मात्र कुरा भयो' उनले भने, 'टीआरसीमा समझदारी बनेपछि म उठेर हिँडे। तर, म निक्लिने वित्तिकै मन्त्रिपरिषद्को बैठक बसेर त्यही विषयमा निर्णय गरियो र मलाई के लाग्यो भने, फेरि एकचोटी निकै ठूलो जालझेल भएको जस्तो भयो।'
त्यस्तै उनले आफूमाथि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लगाएको आरोपको खण्डन गरे।
‘ज्ञानेन्द्र शाहीले टीआरसीसँग कुलमान साट्यो भन्नु भएछ यो भन्दा झूटो, बेइमानीपूर्ण र अपराधिक प्रचार केही हुन सक्छ?’ उनले सोधे।
Shares

प्रतिक्रिया