नेपालमा विगत ७ वर्षमा कोरा जन्मदर झन्डै ४ भागले गिरावट आएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ मा आधारित नेपालको प्रजनन् स्थितिसम्बन्धी विषयगत प्रतिवेदनले जन्मदरमा उच्च गिरावट आएको देखाएको हो।
विसं २००९ सालमा प्रत्येक १ हजार जनसंख्याबराबर ४० देखि ५० जना शिशु जन्मिने गरेका थिए।
तर, २०७८ सम्ममा यस दरमा भारी गिरावट आएर १ हजार जनसंख्यामा १४ शिशुको जन्ममा सीमित भएको छ।
कोरा जन्मदर सबैभन्दा न्यून बागमती प्रदेशमा छ भने बढी कर्णाली प्रदेशमा छ। बागमतीमा १ हजार जनसंख्यामा ११ जना शिशु जन्मिछन् भने कर्णालीमा १८ जना जन्मिने गरेका छन्।

कूल कोरा जन्मदर सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा केही बढी छ।
प्रजननदर पनि उल्लेख्य मात्रामा घट्दै गएको पाइएको छ।
२०५८ सालमा २५ देखि ३९ वर्ष उमेर समूहका १ हजार महिलाबराबर ७१ जना शिशु जन्मिने गरेका थिए। २०७८ सालमा यो संख्या घटेर ४७ मा झरेको छ।
हाल २० देखि २४ वर्ष उमेर समूहका १ हजार महिलामा १ सय ४९ जनाले सन्तान जन्माउने गरेका छन्। यो संख्या २०५८ सालको तुलनामा कम हो। २०५८ सालमा यसै उमेर समूहका १ हजार जना महिला २ सय ३ जना आमा बनिसकेका हुन्थे।
किशोरावस्थामा सन्तान जन्माउने महिलाको संख्या अझै पनि सोचनीय रहेको प्रतिवेदनले औँल्याएको छ, त्यसमा पनि मधेस र कर्णालीमा यो दर बढी छ। मधेसमा १५ देखि १९ वर्ष उमेर समूहका १ हजार किशोरीमा मधेस ८ दशमलव ५ जनाले र कर्णालीमा ७ जनाले सन्तान जन्माउने गरेका छन्।
प्रतिवेदनले छिटो विवाह, अशिक्षा वा न्यून शैक्षिकस्तरलाई यसको मुख्य कारण मानेको छ।
पछिल्लो जनगणनाको तथ्यांकअनुसार एक महिलाले २ दशमलव १ सन्तान जन्माउने गरेका छन्। प्रदेशगत रूपमा हेर्दा मधेस र कर्णालीमा यो दर बढी (क्रमशः २.८५ र २.१९) छ।
बागमती र गण्डकी न्यून प्रजननदर रहेका प्रदेश हुन्। यी दुई प्रदेशका क्रमशः १ महिलाले १.३७ र १.५४ सन्तान जन्माउने गरेका छन्।
सहरीकरण र ढिलो विवाह यसका मुख्य कारण रहेको प्रमुख तथ्यांक अधिकारी मधुसूदन बुर्लाकोटीले बताए।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले ढिलो विवाह र जीवनशैलीका कारण प्रजनन दर कम हुँदै गएको बताए। स्वास्थ्य सचिव देवकोटाले किशोरावस्थामा बच्चा जन्माउने दर कम नहुनु भने चिन्ताको विषय भएको उल्लेख गरे।
प्रतिवेदनले आगामी ३० वर्षमा प्रजननदरमा अझै कमी आउने प्रक्षेपण गरेको छ। ढिलो विवाह र ढिलो सन्तान जन्माउने योजनाले प्रजनन् दर ३० प्रतिशतले कम हुने आकलन छ।
अबको ३० वर्षमा सन्तान जन्माउने औसत उमेर पनि २९ वर्ष हुने प्रक्षेपण गरिएको छ।
Shares

प्रतिक्रिया