समाज


पदबहालीपछि शाक्यको घोषणा: अबको दुई हप्तामा रिजल्ट दिन्छु, लोडसेडिङ हुँदैन

पदबहालीपछि शाक्यको घोषणा: अबको दुई हप्तामा रिजल्ट दिन्छु, लोडसेडिङ हुँदैन

नेपालखबर
चैत १२, २०८१ मंगलबार १९:५६, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अबको दुई हप्ताभित्र नतिजा आउने गरी काम गर्ने घोषणा गरेका छन्।

मंगलबार प्राधिकरणमा पदबहाली गरेसँगै पत्रकारहरूसँग कुरा गर्दै शाक्यले लोडसेडिङ हुने हल्लाको पछि नलाग्न पनि आग्रह गरेका हुन्। 

उनले आफूले बल्ल न्याय पाएको छ अनुभूति भएको पनि बताए। 

'अघिल्लोपटक नियुक्ति पाउँदा ६ महिना नपुग्दै जिम्मेवारी अन्त्य गरिएको थियो। साढे तीन वर्ष न्यायका लागि अदालतको ढोका ढकढकाउँदै थिएँ।  म अदालत न्यायका लागि गएको थिएँ। माघ २५ मा मेरो नियुक्तिको समय सकिएको र अब औचित्य सकियो भन्नेर त्यसै सक्काइयो,' उनले भने, 'आज पुन: नियुक्ति हुँदा न्याय पाएँ भन्ने अनुभूति भएको छ।'

ऊर्जा क्षेत्रमा ३३ वर्ष काम गरेको अनुभवको आधारमा काम गरेर नतिजा दिने उनको भनाइ छ। त्यस्तै उनले प्राधिकरणमा बाहिरबाट हेर्दा सबै ठिकै देखे पनि भित्र संकट रहेको जानकारी आफूले पाएको बताए। 

 '३३ वर्षको अनुभव, प्राविधिक दक्षतालाई आधार मानेर अब यहाँ काम गर्नेछु। ऊर्जा क्षेत्रमा केही ठूला चुनौती छन्। हेर्दा बाहिर सबै ठिक छन् भन्ने देखे पनि ठूला समस्या भएको जानकारी पाएको छु,' उनले भने, 'त्यसलाई सबै साथीहरू मिलेर संस्थालाई प्राथमिकता दिएर हल गर्नेछौँ।'

ऊर्जामन्त्रीले नै राष्ट्रियसभामा गएर अब लोडसेडिङ हुँदैछ भनेर गरेको घोषणालाई उनले खण्डन गरे।  ०७७ सालको उदाहरण दिँदै उनले भने,'०७७ सालमा पनि यस्तै हल्ला गरिएको थियो। त्यो वर्ष नाफा कम भयो। तर लोडसेडिङ भएन। अहिले पनि त्यस्तै हो। लोडसेडिङ हुँदैन। एक दुई हप्ताभित्र रिजल्ट दिन्छु। उद्योगमा वर्षमा एक दिनभन्दा लोडसेडिङ नहुने गरी काम गर्नेछु।'

उनले अबको चुनौती लोडसेडिङ नभएको र विश्वसनीय बिजुली वितरण भएको पनि बताए। डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताको विषयमा न्यायीक तबरबाट सबै आइसकेको र प्राविधिक रुपमा समाधान गर्न आफू तयार रहेको पनि दाबी गरे।  

आफ्नो नियुक्तिलाई अवसरको रुपमा लिएको भन्दै उनले सरकारले घोषणा गरेको २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यलाई पूरा गर्ने गरी अघि बढ्ने बताए।  त्यस्तै उनले भारतबाट आउने बिजुली नरोकिने पनि दाबी गरे। 'भारतबाट आउने बिजुली रोकिँदैन' उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad