समाज


उपभोक्ता अदालतमा पहिलो दिन ओम अस्पतालविरुद्ध मुद्दा दर्ता, ५ करोड क्षतिपूर्ति माग

डाक्टरले एक्सरे हेर्न नजान्दा ९८ वर्षीय बिरामीको ज्यान गएको दाबी
उपभोक्ता अदालतमा पहिलो दिन ओम अस्पतालविरुद्ध मुद्दा दर्ता, ५ करोड क्षतिपूर्ति माग

नेपालखबर
चैत ३, २०८१ आइतबार १८:२४, काठमाडौँ

काठमाडौँको चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर (ओम अस्पताल) ले भाँचिएको खुट्टा पनि नभाँचिएको भनी बिरामीलाई घर फर्काइदिएको र त्यसबाट अपूरणीय क्षति पुगेको भन्दै उपभोक्ता अदालतमा मुद्दा दर्ता भएको छ।

काठमाडौँको त्रिपुरेश्वरमा आइतबारबाट सञ्चालनमा आएको उपभोक्ता अदालतमा पहिलो दिन नै ओम अस्पताविरुद्ध मुद्दा दर्ता भएको हो। उक्त मुद्दामा अस्पतालको लापरवाहीका कारण आफन्तको ज्यान गएको दाबी गरी अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने माग गरेका छन्।

अदालतमा दर्ता भएको फिरादपत्रअनुसार, बूढानीलकण्ठ–९, काठमाडौँ बस्ने ९८ वर्षीय हरिहरप्रसाद गौतमलाई गत माघ ५ गते शौचालय जाने क्रममा लडेपछि अस्पताल लगिएको तर एक्सरे गरी हेरेपछि ओम अस्पतालका चिकित्सकले सबै ठिकठाक छ भन्दै सामान्य पेनकिलर दिएर घर पठाएका थिए। 

अस्पतालको आकस्मिक कक्षमा रहेका डा सायुज्यराज घिमिरे र डा सरोज कुमार गोहियारले एक्सरे हेरी ‘खासै केही भएके हैन, सामान्य छ’ भन्दै दुखाइ कम हुने औषधी दिएर डिस्चार्ज गरेको फिरादमा उल्लेख छ।

घर पुगेर औषधी सेवन गरेको ४ दिनपछि पनि दुखाइ कम नभएपछि ह्याम्स अस्पतालमा ओमकै एक्सरे देखाउँदा त्यहाँका चिकित्सकले भाँचिएको (फ्य्राक्चर) हड्डी भएको भनेका थिए। ह्याम्समा सीटी स्क्यान गरियो र त्यहाँ माइनर फ्र्याक्चर बढेर ससना टुक्राहरू भएर गम्भीर क्षति पुगेको पत्ता लाग्यो।

ह्याम्सका चिकित्सकले पहिलो दिनभन्दा अहिले धेरै क्षति पुगेको बताउँदै पहिलाकै अवस्थामा सही उपचार गर्न पाएको भए आराम गरेर माररै जोडिने सम्भावना भए पनि अब गम्भीर क्षति भइसकेकाले शल्यक्रिया वा स्केलेटर ट्र्याक्सन (पिन तथा तारहरू राख्ने) विधि अपनाउनुपर्ने जानकारी दिए।

शल्यक्रिया गर्दा वृद्ध अवस्थाको व्यक्तिमा निमोनियालगायत अन्य स्वास्थ्य जटिलता आउन सक्ने र ज्यानकै जोखिम पनि हुन सक्ने ती चिकित्सकले चेतावनी पनि दिए। त्यसैले उमेरका कारण बढी जटिलता आउन नदिन बाध्यतावश स्केलेटर ट्र्याक्सन विधि अपनाई उपचार अघि बढाइयो।

उपचारमै रहेको अवस्थामा २०८१ फागुन ३ मा बिरामीको मृत्यु भयो। एक्सरे राम्रोसँग नहेरी भाँचिएको खुट्टा नभाँचिएको भनेर घर पठाएको र सोही कारण यति ठूलो क्षति बेहोर्नुपरेको भन्दै हरिहरप्रसाद गौतमका छोरा वसन्त गौतमले यो मुद्दा दायर गरेका हुन्। 

‘मेरा पितालाई विपक्षीहरूसँग विश्वासमा भर्ना गरेको थिएँ। विपक्षीहरूले मेरो पितालाई मनसायपूर्वक गर्नुपर्ने दायित्व र कर्तव्य पूरा नगरी सघनरूपमा परीक्षण नै नगरी, परीक्षण भएको कागजात अध्ययन नै नगरी गम्भीर लापरबाही (ग्रस नेग्लिजेन्स) गरेको अवस्था छ,’ छोरा वसन्त गौतमले फिरादपत्रमा लेखेका छन्, ‘विपक्षी अस्पताल तथा चिकित्सकहरू सो विषयको प्रज्ञावान् व्यक्तिहरू हुन् भन्ने बुझेकाले निजहरूप्रति विश्वासमा पितालाई भर्ना गरेकोमा निजहरूले गरेको हेलचेक्र्याइँको कारणले मेरो पिताको उपचारमा गम्भीर लापरबाही गरी पिताले अत्यन्तै पीडा साथ ज्यान गुमाउन बाध्य हुनुपरेको अवस्था छ। विपक्षीहरूको गम्भीर लापरबाही र हेलचेक्र्याइँको कारणले पिताको शारीरिक, पितासमेत हामी सबैको आर्थिक मानसिक हानि भएकोले माग बमोजिम क्षतिपूर्ति भराई पाउने स्पष्ट छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad