समाज


गायक विक्रम राईको मृत्यु शंकास्पद, भिसेरा रिपोर्ट कुर्दै प्रहरी

गायक विक्रम राईको मृत्यु शंकास्पद, भिसेरा रिपोर्ट कुर्दै प्रहरी

नेपालखबर
चैत २, २०८१ शनिबार २१:३, काठमाडौँ

गायक तथा संगीतकार विक्रम राईको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।

खोटाङ घर भएका राईको फागुन १७ गते राति हरसुङमा अर्गानिक खाजा घर, अनामनगरमा मृत्यु भएको थियो।

अत्यधिक मदिरा सेवन गरेका राईको मृत्यु शंकास्पद देखिएको भन्दै उनको परिवारले अनुसन्धानको माग गरेका छ।

विक्रमसँग केही वर्षदेखि लिभिङ टुगेदरमा बसिरहेकी खोटाङकै युवतीविरुद्ध उनीहरूले किटानी जाहेरीसमेत दिन खोजेका छन्। घटना हुँदा ती युवती साथै थिइन्।

त्यस रात विक्रम ढलेपछि तिनै युवतीले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी भ्यानमा उनलाई बागबजारस्थित काठमाडौँ मोडल अस्पताल लगिएको थियो। अस्पतालले करिब एक घण्टापछि उनलाई मृत घोषणा गरेको थियो।

शव पोस्टमार्टमपछि आफन्तले खोटाङ नै लगेर अन्तिम संस्कार गरिसकेका छन्।

पोस्टमार्टमबाट पनि उनको मृत्युको कारण नखुलेको प्रहरीको दाबी भनाइ छ।

अहिले प्रहरी भिसेरा परीक्षणको नतिजा पर्खिरहेको छ। भिसेरा परीक्षण प्रतिवेदन प्राप्त भएपछि थप अगाडि बढ्ने प्रहरीको भनाइ छ।

प्रहरीले घटनास्थलको सीसीटीभी पनि हेरेको छ। त्यहाँबाट युवतीको भूमिका शंकास्पद नदेखिएकाले अहिले नै उनीविरुद्ध मुद्दा चल्ने अवस्था नदेखिएको प्रहरीको भनाइ छ।

युवतीमाथि यस्ता छन् आफन्तका आरोप
विक्रमकी दिदी अमिता राई लगायत आफन्तले लिभिङ टुगेदरमा बसेकी युवतीलाई पक्राउ गरेर अनुसन्धान थाल्न माग गरेका छन्।

विक्रमको मृत्यु भएको दोस्रो साता मात्रै आफन्त अनुसन्धानको माग गर्दै प्रहरी वृत्त सिंहदरबार पुगेका छन्।

सुरुमा विक्रमको मृत्युको कारण शंकास्पद नठानेको तर अहिले उनको मृत्यु नभई हत्या हुन सक्ने आधार देखिएको दिदी अमिताले बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसका कारण र आधारसमेत उल्लेख गरेकी छन्।

‘हामी शोकमा छौँ। तर भाइको मृत्युको कारण नखुल्दा उत्तिकै छटपटी छ। हामी मात्रै विश्वास गर्न योग्य कारण खोजिरहेका छौँ’, अमिताले लेखेकी छन्, ‘भाइको अन्त्येष्टिपछि घटनालाई नियाल्दै जाँदा प्राप्त सामग्रीको आधारमा हामीमाझ भाइको निधन नभई हत्या भएको हुन सक्ने शंका बाक्लिँदै गएको छ।’

विक्रमले बोक्दै आएका दुईवटा मोबाइल लगायतका कुनै पनि सामग्री परिवारलाई प्राप्त नभएकोले घटना शंकास्पद बन्दै गएको उनको जिकिर छ।

घटनास्थलबाहिरको सीसीटीभी फुटेजले झनै शंका थपिए पनि प्रहरीले फरेन्सिक रिपोर्ट आएपछि उजुरी लिने जवाफ दिएको उनले बताइन्।

तत्काल अनुसन्धान नभए र प्रमाणहरू नष्ट हुने आशंका उनको छ।

परिवारको शंका मेटाउन पनि घटनाको यथासीघ्र अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ।

‘हामी चाहन्छौँ, हामीले जसलाई शंकाको घेरामा राखेका छौँ। ऊ निर्दोष ठहरिऊन्। तर घटनाको अनुसन्धान अपरिहार्य छ,’ अमिताले भनेकी छन्।

उनका अनुसार खाजा घरमा विक्रम र ती युवतीको सुरुमा झगडा परेको थियो।

झगडाको अडिओ र भिडिओ युवतीले विक्रमको दिदी अमितालाई पठाएकी थिइन्। त्यहाँ भएका युवती र अन्य दुई युवक पटकपटक बाहिर-भित्र गरेको फुटेजमा देखिएको छ। सोही फुटेजलाई लिएर पनि आफन्तको शंका छ।

बिहान ३:५६ मा नै विक्रमलाई अस्पताल लगिएको भए पनि बिहान ४:५३ मा अस्पतालले मृत घोषणा गरेको र दिदी अमितालाई त्यसको आधाघण्टा पछि मात्रै विक्रम बोल्दैनन् भन्दै भ्वाइस म्यासेज मार्फत खबर गरेको उनीहरूले बताएका छन्।

गायिका समेत रहेकी युवतीले भने माया गरेको मान्छे गुमाएको बताएकी छन्। उनले पनि फेसबुकमार्फत नै आजसम्म घटनाका विषयमा नबोली बसेको र कानुन र प्रहरीले नै सबै कुरा पत्ता लगाउने  बताएकी छन्।

केही व्यक्तिले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको गुनासो उनको छ। उनले त्यसरात विक्रमले अत्याधिक रक्सी खाएको बताएकी छन्। रातिसम्म लुडो खेल्दै रक्सी खाएर बसेको युवतीले उल्लेख गरेकी छन्।

उनले सामान्य विषयमा भनाभन भएको, बियरका गिलास र हुक्का पनि फुटाएको उनले बताएकी छन्। जथाभावी रक्सी खान थालेपछि नखान भन्दा आफैंलाई हुत्याएको, बियरको बोतलले टाउकोमा हानेको पनि उनले उल्लेख गरेकी छन्।

त्यतिबेला आफूले विक्रमकी दिदीलाई खबर गरेपनि दिदीले वास्ता नगरेको उनले दाबी गरेकी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad