शनिबार बिहान साढे ११ बजेतिर प्रहरीको कन्ट्रोलमा फोन आयो, ‘बागमती नदीमा बोराभित्रबाट महिलाको हात निस्किरहेको छ।’ गोकर्णेश्वर नगरपालिका ७ स्थित बागमती नदीमा पूजा गर्न भनेर पसेका ती व्यक्तिले बोराबाट हात बाहिर निस्किएको देखेपछि प्रहरीलाई खबर गरे।
लगत्तै यो सूचना उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ परिसरमातहतमा फैलियो। प्रहरी वृत्त बौद्ध सुरुमा पुग्यो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुग्यो। प्रहरीले खोलाबाट महिलाको शव निकाल्यो।
शव बोरामा बाँधिएको थियो। मन्डीसहित बोरामा तन्नाले पोको पारिएको थियो। तर खुट्टा प्लास्टिकको टेपले बाँधिएको अवस्थामा भएकाले महिलाको हत्या गरेर फालिएको प्रारम्भिक निष्कर्षसहित प्रहरीले अनुसन्धान अगाडि बढायो। सुरुमा घटनास्थलआसपासका सीसीटीभीतिर केन्द्रित भयो प्रहरी अनुसन्धान।
वडा कार्यालयको सीसीटीभीमा शव लैजाँदै गरेको देखियो। एक जना अघिअघि र चार जनाले बोरा बोकेका थिए। चार जनाले डिलबाट बोरा बागमतीमा फालेर त्यही बाटो फर्किएको सीसीटीभीमा देखियो। त्यसपछि उनीहरू शिवचोक नजिकैबाट फर्किन्छन्।
जम्बुडाँडा प्रहरी वृत्त नजिकैबाट चार युवक शव फालेर फर्किएको सीसीटीभीबाटै खुल्छ। शव व्यवस्थापन गरिसकेपछि एक जना भने माकलबारीतिर लागेको देखिएको छ।
तर चार जना भने जम्बुडाँडा नजिकैको पुल तरेर राधाकृष्ण मन्दिर नजिकैको गाई फार्मको टहरामा पुग्छन्। एक युवती शव फालिसकेपछि सिन्धुपाल्चोकतर्फ लाग्छिन्।
प्रहरीले शव व्यवस्थापन गर्ने व्यक्तिहरूको पहिचान सीसीटीभीबाटै गर्छ र उनीहरूको खोजीमा लाग्छ। गोठाटारको ओरालोबाट भने प्रहरी अलमलमा पर्छ। काठमाडौँ परिसरको अनुसन्धान टोली राति १० बजेतिर उनीहरू कता गए भनेर अलमलमा उभिरहेको थियो। स्थानीय एक जना महिलालाई भेटेर प्रहरीले ती सीसीटीभीमा देखिएका व्यक्तिहरूको बारेमा सोध्यो।
ती महिलाले चार पाँच जना केटाहरू यहीँ नजिकै बस्छन् भनेर देखाइदिइन्। ती महिलाले देखाइदिएको कोठामा प्रहरी पुग्दा तीन युवक र एक नाबालक सुतिरहेको भेटिन्छन्। शनिबार राति साढे १० बजेतिर प्रहरी चार जनालाई पक्राउ गर्न सफल हुन्छ।
प्रहरीले थप सूचना नाबालकबाट लिन्छ। ती नाबालकले घटनाको बारेमा प्रहरीलाई सबै कुरा बताउँछन्। उनैले पूजाको कोठा देखाइदिन्छन् र घटना सोही कोठामा भएको बताउँछन्। उनैले घटना भएको राति पूजा नाम गरेकी युवती, मृतक महिला र दुई जना पुरुष सँगै कोठामा सुतेको बताउँछन्।
भोलिपल्ट आफूहरूलाई शव व्यवस्थापन गर्न मात्रै बोलाएको उनले बताएका छन्। चार जनालाई प्रहरीले घटनास्थलमा ल्याएर थप प्रस्ट पार्नतर्फ लाग्छ। त्यसपछि प्रहरीको अनुसन्धान सिन्धुपाल्चोक गएकी पूजा र माकलबारीतर्फ लागेका पेम्बाकोको खोजीतर्फ लाग्छ।
भोलिपल्ट (आइतबार) पूजा सिन्धुपाल्चोकबाट फर्किएकी थिइन्। उनलाई जडीबुटी पारी लोकन्थलीमा प्रहरीले एक युवकसँग फेला पारेको थियो। घटनामा संलग्न भनिएका नाबालककै सहयोगमा पूजालाई चिनेर पक्राउ गरेको थियो। पूजा पक्राउ परेसँगै घटनाको बारेमा सबै पत्ता लागेको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन्।

आरोपित सबै पक्राउ तर अझै खुलेन मृतकको पहिचान
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले घटनामा संलग्न देखिएका सबै जनालाई पक्राउ गरिसकेको बताएका छन्।
प्रहरीले सर्लाहीको बागमती ढुंग्रेखोलाका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौँडा शिखरपानीका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ-४ देउरालीका २४ वर्षीय रोशन तामाङ र एक नाबालकलाई गोठाटारबाट सुरुमा पक्राउ गरेको थियो।
सिन्धुपाल्चोकको तिपिनेकी २० वर्षीया पूजा परियारलाई लोकन्थलीबाट आइतबार पक्राउ गरेको थियो। मकवानपुरको थाहा नगरपालिकाका १९ वर्षीय पेम्बा तामाङ सोमबार माकलबारीबाट पक्राउ परेका हुन्।
रोशन, पेम्बा र नाबालकको भने शव व्यवस्थापनमा मात्रै संलग्नता देखिएको छ। तर पूजा, कैलाश र सुरेश भने मृतक महिलासँगै रक्सी खाएर बसेका थिए।
कैलाश र सुरेशले राति ती महिलासँग शारीरिक सम्पर्क राखेको र त्यस क्रममा उनी बेहोस भएपछि राति नै कोठाबाट भागेर गोठाटार पुगेको बयान दिएका छन्।
पूजाले भने सोही कोठामा रक्सीको नसामा सुतेकाले एकैपटक भोलिपल्ट बिहान मात्रै ब्युँझिएको बताएकी छन्।
भोलिपल्टसँगै सुतेकी महिलालाई मृत देखेपछि अरूलाई बोलाएको बताएकी छन्।
उनीहरूले शव व्यवस्थापन गर्नका लागि ती महिलाको खुट्टामा टेप लगाएको बयान दिएका छन्। महिलाको शरीरमा अन्य चोट भने नदेखिएको प्रहरीले जनाएको छ।
धूप बालेर राखे २ दिन, गन्हाउन थालेपछि फाले बागमतीमा
घटना फागुन २० गते राति भएको अनुसन्धानबाट खुलेको छ। जुन कुरालाई पक्राउ परेका आरोपितहरूले पनि स्वीकार गरेका छन्।
फागुन २० गते दिउँसो गोठाटारको खाजा पसलमा रक्सी खाएर पूजाको कोठामा फर्किएको उनीहरूको बयान छ। पूजा र ती महिलाबीच घटनाको केही दिनअघि मात्रै एउटा होटेलमा भाँडा माझ्ने काम गर्दा भेट भएको थियो। ती महिला पनि रक्सी खान्थिन्। पूजाले उनलाई दिदी भनेर बोलाउने गरेको र ओखलढुंगातिर घर भनेको बताए पनि आफूले नामसमेत थाहा नपाएको बयान दिएकी छन्।
घटनामा संलग्न सबै यस्तै मजदुरी गर्ने गरेको प्रहरीको भनाइ छ। दुई जना भने यसअघि पनि आपराधिक घटनामा संलग्न रहेको तथ्य प्रहरीले फेला पारेको छ।
ती महिलासँगै सुतेका कैलाश र सुरेशले पनि हत्या नगरेको दाबी गरेका छन्। उनीहरूले शारीरिक सम्पर्क गर्दागर्दै महिला बहोस भएपछि कोठाबाट हिँडेको र भोलिपल्ट पूजाले बोलाएपछि फर्किएर शव छोपिदिएर हिँडेको बताएका छन्। उनीहरूले कोठामा शव छोपेर छाडेपछि गन्हाउँछ भनेर धूप समेत बालेका थिए।
तर त्यसको दुई दिनपछि उक्त कोठामा फर्किँदा गन्हाएपछि राति ४ बजेतिर नजिकैको किराना पसल बाहिरबाट बोरा लगेर उनीहरूले पोको पारेर फालेको बताएका छन्।
ओखलढुंगाकी महिला भएको सूचनापछि काठमाडौँ परिसरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा सनाखतका लागि परिपत्र गरेको छ।
यता शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको एसपी बोहराले बताए।
Shares

प्रतिक्रिया