नेपालीलाई विभिन्न देशमा पठाइदिन्छु भन्दै दिल्लीमा लगेर अलपत्र पारेका एक अभियुक्तलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।
मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले दाङका कमलकुमार न्यौपानेलाई भारतबाटै पक्राउ गरेर ल्याएको हो। ब्युरोले आइतबार पक्राउ गरी उनलाई सार्वजनिक गरेको छ।
उनीविरुद्ध विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको तथा विदेशमा बन्धक बनाएको अभियोगमा ५ वटा मुद्दा दर्ता छन्।
उनले ६ वर्ष पहिले नेपालीलाई विभिन्न देशमा लैजाने र दिल्ली पुर्याएर बन्धक बनाउने गरेको आरोप छ।
पोर्चुगलमा इन्टरनेसनल मनी एक्सचेन्ज वा होटलमा काम लगाइदिन्छु भन्दै दाङका कमलकुमार न्यौपानेले दुई युवालाई काठमाडौँबाट दिल्ली पुर्याए।
तलब १२ सय युरोदेखि १८ सय युरोसम्म हुन्छ भनेका थिए। त्यही आशमा ती दुई नेपाली युवक कमलकुमारलााई १० लाख रूपैयाँ बुझाउन तयार भए।
प्रक्रिया सुरु गर्न ३ लाख लाग्ने बताएका कमललाई उनीहरूले दुई लाखका दरले बुझाए। तर कमलले मानेनन्। थप दुई लाखका दरले बुझाएपछि उनीहरूको प्रक्रिया सुरु भयो।
दुई जनाबाट ८ लाख रूपैयाँ लिइसकेपछि भारतको नयाँ दिल्ली जान भने। उनले भनेअनुसार दुई युवा दिल्ली पुगे। तर नयाँदिल्लीमा पिताम्बर कँडेललाई सम्पर्क गरेर कमलले अरबी मुलुकका मानिसको जिम्मा लगाइदिए।
उनीहरूले त्यसपछि आफूहरूलाई बेचबिखन गर्न लागेको शंका गरे। अनि भागेर नेपाल फर्किए। नेपाल फर्किएपछि उनीहरूले कमलविरुद्ध उजुरी दिए। ती दुई युवकको उजुरीको आधारमा प्रहरीको केन्द्रीस्य अनुसन्धान ब्युरो (सीआईबी) ले २०७६ असोज २७ गते मुद्दा दर्ता गर्यो।
कमलकुमार भने फरार नै थिए। यो घटना थियो २०७५ कात्तिक ११ गतेको।
त्यसअघि उनले एक जना महिलालाई पोल्यान्डमा रोजगारी दिलाइदिन्छु भनेर ठगेका थिए। २०७५ भदौमा दुबईको शेखको विशेष मान्छे हुँ पोल्यान्ड पठाइदिन्छु भनी प्रलोभनमा पारेको उजुरी प्रहरीमा परेको थियो।
प्रलोभनमा परेकी महिलालाई भारतको नयाँदिल्ली जानू, त्यहाँ मेरो साथी पिताम्बर कँडेल छ भनेका थिए। कमलकुमारलाई ती महिलाले ५ लाख ७० हजार रूपैयाँ दिएकी थिइन्। दिल्लीमा पिताम्बर कँडेलले थप २ लाख ३० हजार रूपैयाँ लिए।
अब काम हुन्छ भनेर पिताम्बरले कोठामा राखेर बन्धक बनाए। उनले पनि एक व्यक्तिको गाडीमा राखेर लैजाँदै गर्दा ती महिला भागेर नेपाल फर्किन सफल भइन्। फर्किएर ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्।
अरु दुई जनालाई कमलकुमारले आयरल्यान्ड पठाउने भन्दै ठगेका थिए। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोका अनुसार आयरल्यान्ड जाने नाममा ठगिने एक महिला र एक पुरुष छन्।
२०७५ असोज ५ गते ती दुईजनालाई नेपालबाट दुबई पठाएका थिए। आएरल्यान्डमा मासिक १२०० देखि १८०० युरोसम्म कमाइ हुन्छ भनेपछि दुवैजना जान तयार भए। १५ दिनभित्र सबै काम हुन्छ भनेका थिए।
तर काठमाडौँबाट दुबई पुगेका दुई जनालाई एउटा कोठामा राखेर एक महिनासम्म बन्धक बनाए। अनि त्यसपछि भने, ‘अब यहाँबाट काम नहुने भयो तिमीहरू दिल्ली जानु पर्ने भयो।’
अरुलाई जस्तै उनीहरूलाई पनि भारत पुगेपछि पिताम्बरलाई नै भेट्न भनियो। दिल्लीमा एक साता कोठामा राखियो। कोठामा बन्धक बनाएपछि नेपाल फर्किएर ती दुवै जनाविरुद्ध उजुरी दिए।
यो मुद्दामा पनि कमल कुमार फरार थिए।
एक पुरुषलाई उनले रोजगारीकै प्रलोभनमा पारेर दुबई पुर्याए। तर दुबईमा लगेपछि पासपोर्ट लगायतका कागजात नियन्त्रणमा लिए।
दुबई लैजानुपहिले नै उनले ८ लाख ६० हजार रूपैयाँ लिइसकेका थिए। त्यहाँ केही समय बन्धक बनाएपछि यहाँबाट काम नहुने भयो भन्दै भारत फर्काए।
त्यहाँ लगेपछि भने प्रतीक शर्मा नाम गरेका अर्का दलालसँग भेट गराएर बन्धक बनाए। दिल्लीमा बन्धक बनेका ती पुरुष पनि नेपाल फर्किएर उजुरी दिए।
अरु दुई पुरुषलाई पनि उनले पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा उजुरी परेको छ। २०७५ सालमै जहाजमा भारतको नयाँदिल्ली लगेर आफूलाई बन्धक बनाएको उनीहरूको आरोप छ।
५५ दिनसम्म दिल्लीको एक होटलमा बन्धक बनाए पनि उनीहरू भागेर नेपाल फर्किएका थिए।
Shares

प्रतिक्रिया