समाज


कोरोना भाइरस कुन ठाउँमा कति समय जीवित रहन सक्छ?

कोरोना भाइरस कुन ठाउँमा कति समय जीवित रहन सक्छ?

रिचर्ड ग्रे
चैत १३, २०७६ बिहिबार २:२३,

विश्वमै कोरोना भाइरस (कोभिड—१९) फैलिँदै जाँदा यो कहाँबाट कसरी सर्छ भन्ने चासो मानिसमा बढ्दो छ। सर्ने विषयको त्रास पनि छ। सार्वजनिक स्थान प्रयोग गर्दा मान्छेले कुहिनोले ढोका खोलिरहेका दृश्य विश्वका लागि अब साझा भएका छन्। बस र रेलबाट यात्रा गर्ने यात्रुमा ह्यान्डल समात्नबाट जोगिएको दृश्य देखिन थालेका छन्। कार्यालय पुगेपछि अधिकृत कर्मचारीले बिहान डेस्क सफा गर्दै गरेको देखिन थालेको छ।

अस्पताल, डिपार्टमेन्ट स्टोर, पसलमा सरसफाई पहिलाभन्दा बढाइएको छ। कतिपय सहरमा स्वयंसेवकले रातीको समयमा एटीएम मेसिन सफा गर्न थालेका छन्।

धेरै देशहरुमा यसरी दृश्य फेरिनुमा एउटै कारण छ— कोरोना संक्रमणबाट टाढै रहने। भाइरस कहाँ र कस्तो वतावरणमा बाँच्न सक्छ भन्ने थाहा पाए यसबाट बच्न मद्दत पुग्न सक्छ। त्यस विषयमा वैज्ञानिकहरुको फरक—फरक टोलीले अनुसन्धान गरेका छन्।

शोधकर्ताहरुका अनुसार कोरोना संक्रमित व्यक्ति खोक्दा वा छ्यूँ गर्दा मुख वा नाकबाट बाहिर निस्कने पानीजस्तो पातलो सिँगानबाट कोरोना फैलिन सक्छ। एक पटक छ्यू गर्दा निस्कने सिँगानबाट ३ हजार कणसम्म पानी बन्न सक्छ। यस्तो कण अर्को व्यक्तिको कपडा वा नजिकै खस्न सक्छ। केही पार्टिकल्स (एटमभन्दा सुक्ष्म भाग) हावामा पनि रहन सक्छन्।

वैज्ञानिकहरुको अध्ययनले देखाएअनुसार भाइरसहरु दिसाजन्य फोहरमा लामो समयसम्म जीवित रहन सक्छन्। यस्तो अवस्थामा शौचालय गएर आउने व्यक्तिले यदि राम्रोसँग हात नधोए उसले छुने अर्को जुनसुकै चिज संक्रमित हुनसक्छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को शोधले देखाएअनुसार भाइरस भएको कुनै सतह वा वस्तु छोएर आफ्नो अनुहार छुनु भाइरस फैलिने मुख्य कारण होइन। कोरोनाका सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का लागि काम गर्ने शोधकर्ताहरुको मत फरक छ। उनीहरुका अनुसार हात धुने तथा बारम्बार छुने सतहलाई दैनिक सफा गर्नु कोरोना फैलिनबाट रोक्ने मुख्य उपाय हो।

अहिले अनुसन्धानकर्ताको मुख्य सवाल यो छ कि आखिर कति समयसम्म कोरोना भाइरस मानव शरीर बाहिर जीवित रहन सक्छ? सार्स कोभ—२ भाइरसमा गरिएको अध्ययनले देखाएको छ फलामे ग्लास तथा प्लास्टिकमा यो भाइरस ९ दिनसम्म जीवित रहन सक्छ। कम तापक्रममा कुनै भाइरस २८ दिनसम्म बाँच्न सक्छ। कोरोनाले अनुकूल वातावरण पाए यो लामो समय टिक्न सक्छ।

पछिल्लो समय कोरोनाबारे धेरै अनुसन्धान भएका छन्। शोधकर्ताले यो भाइरस कसरी फैलिन्छ भन्नेबारे जानकारी पनि बटुलेका छन्। युएस नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) का बायोलोजिस्ट निल्तजे डोरमालेनसहितका अनुसन्धानकर्ताले सार्स कोभ—२ भाइरस फरक—फरक सतहमा कति समय बाँच्न सक्छ भनेर अनुसन्धान गरेका छन्। उनको यो शोध न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित छ। यो अध्ययनबाट थाहा भयो कि यो भाइरस थुक वा रुघाखोकी क्रममा मानव शरीर बाहिर निस्किएपछि थोपामा ३ घन्टासम्म जीवित रहन सक्छ। १ देखि ५ माइक्रोमिटर आकार भएको छिटा मानव रउँको मोटाइभन्दा करिब ३० गुणा सानो हुन्छ। यस्तो थोपा कैयौं घन्टासम्म हावामा रहन सक्छ। यसको मतलब के हो भने भाइरस फिल्टरवाला एयर कन्डिसनिङ सिस्टमबाट आउने भाइरस केवल केही घन्टा मात्र जीवित रहन सक्छ।

bio nature कोरोना कार्डबोर्डभन्दा कडा सर्फेसमा लामो समय बाँच्ने वैज्ञानिक मत छ। तस्विरः गेट्टी इमेजज

कहाँ धेरै समय जीवित रहन सक्दैन?
एनआइएचको अध्ययनले देखाएअनुसार सार्स—कोभ—२ भाइरस कार्डबोर्डमा २४ घन्टासम्म तथा प्लाष्टिक तथा स्टिलको सतहमा २—३ दिनसम्म बाँच्न सक्छ। यो जानकारीबाट थाहा भएको छ भाइरस ढोकाको ह्यान्डल, प्लाष्टिक कोटेड सामग्रीको सतहमा बढी समय जीवित रहन सक्छ। शोधअनुसार तामाको सतहमा यो भाइरस ४ घन्टामा मर्छ।

शोधकर्ताहरुले तत्काल यसलाई फैलिन नदिन केही विकल्प देखाएका छन्। अनुसन्धानबाट देखिएको छ ६२—७२ प्रतिशत अल्कोल या ०.५ प्रतिशत हाइड्रोजन पाराअक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइट भएको घरेलु स्यानिटाइरबाट सतह सफा गर्दा कोरोना भाइरस एक मिनेटभित्र निस्क्रिय हुन्छ।

अनुसन्धानबाट देखिएको छ सार्स रोगको कारण बन्नेसँग सम्बन्धित कोरोना भाइरस ५६ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमा मर्न सक्छ। यो कुराको कुनै तथ्यांक छैन कि कुनै संक्रमित व्यक्तिले थुकबाट निस्कने एक थोपामा भाइरसका कति पार्टिकल (एटमभन्दा सुक्ष्म कण) हुन्छन्। फ्लू भाइरसमा गरिएको रिसर्चले सानो थोपामा इन्फ्लुएन्जा भाइरसका दशौँ हजारको अस्तित्व रहने देखाएको छ। यो विषय मुख्यतः भाइरसमा निर्भर गर्दछ, उसले पाउने स्वतन्त्रता अनि अनुकूल वातावरणमा निर्भर गर्दछ।

कपडा तथा यस्तै सतह जसलाई डिसइन्फेक्टेड गर्न गाह्रो हुन्छ ती सामग्रीमा भाइरस कति समयसम्म टिक्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन। रकी माउन्टेन ल्याब्रोटोरीजमा भाइरस इकोलोजीका प्रमुख तथा एनआईएच अध्ययनको नेतृत्व गर्ने शोधकर्ता विसेन्ट मस्टरका अनुसार कार्डबोर्डमा प्लाष्टिक वा धातुको तुलनामा भाइरस छिटो मर्छ। ‘हुनसक्छ छिद्रका कारण भाइरस छिटै सुक्छ वा फाइबरमा फस्न पुग्छ’, उनी भन्छन्।

तापक्रममा परिवर्तन तथा ह्युमडिटीमा भाइरसलाई धेरै लामो समय टिक्न गाह्रो हुन्छ। यसबाट थाहा हुन्छ कि हावामा रहेको पानी छिटामा भाइरस कम समय बाँच्न सक्छ। हामीले किन हात तथा सतह सफा राख्नुपर्छ भन्ने यसले प्रस्ट पार्छ। (रिचर्ड ग्रेको यो रिपोर्ट बीबीसीबाट अनुवाद गरिएको हो।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad