समाज


एकैपटक खाली हुँदै ६ एआईजी : यी हुन् प्रमुख ७ दाबेदार

प्रतिस्पर्धामा ३ जना अगाडि, बाँकी ४ मा कसले मार्ला बाजी?
एकैपटक खाली हुँदै ६ एआईजी : यी हुन् प्रमुख ७ दाबेदार

उजिर कार्की
फागुन २१, २०८१ बुधबार २०:४१, काठमाडौँ

नेपाल प्रहरीमा एकैपटक ६ जना अतिरिक्त महानिरीक्षकको दरबन्दी रिक्त हुने भएको छ। आगामी चैत ५ गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै ५ जना एआईजी पनि अवकाश हुने भएका छन्। बाँकी रहेका तीन एआईजीमा एकजना आईजीपी बन्ने भएकाले एकसाथ ६ जना एआईजी बढुवाको ढोका खुल्ने भएको हो। 

नेपाल प्रहरीको जनपदतर्फका ८ एआईजीमध्ये प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख दीपक थापा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ मात्रै सेवामा रहनेछन्। यी मध्येबाट एकजनाले चैत ५ गतेदेखि प्रहरीको नेतृत्व गर्ने छन्।

अरु एआईजीहरू प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत र जनकराज भट्टराई कुँवरसँगै अवकाश हुनेछन्। 

बाँकी रहेका डीआईजीहरूमा पनि सिनियर तीनजना अवकाश हुनेछन्। आईजीपी कुँवरकै ब्याचका गणेश चन्द, भोलाबहादुर रावल र ध्रुवबहादुर राउत पनि अवकाश हुनेछन्।

६ एआईजीका ७ दाबेदार डीआईजी 
नेपाल प्रहरीमा अब रिक्त हुने ६ जना एआईजीका लागि तीन ब्याचका डीआईजीहरू प्रतिस्पर्धामा छन्। भर्ना हुँदा नै तीन ब्याचका उनीहरू एसएसपीबाट डीआईजी पनि तीन चरणमै बढुवा भएका थिए। 

तीमध्ये सबैभन्दा सिनियर तीनजना छन्। चन्द्र कुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल। उनीहरू २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। खापुङ र आचार्य २०७९ चैत ३० गते डीआईजीमा बढुवा भएका हुन्। शर्मा भने त्यतिबेलाको बढुवामा छुटेर २०८१ जेठमा मात्रै डीआईजी भए। 

खापुङ अहिले सीआईबीमा, आचार्य मधेस प्रदेश प्रमुख र शर्मा बागमती प्रदेश प्रहरी प्रमुख छन्। 

यी तीनै जना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका हुन्। वैकल्पिक सूचीमा रहेका उनीहरू साढे ७ महिनापछि मात्रै भर्ना भए। 

संसदमा पेस भइसकेको प्रहरी विधेयक आगामी भदौ १९ सम्ममा पारित भएर कार्यन्वयनमा आएन भने उनीहरूमध्ये एकजना प्रहरी महानिरीक्षक बनेर २ महिना संगठनको नेतृत्व गर्ने अवसर पनि पाउनेछन्। 

चैत ५ गतेपछि रिक्त हुने एआईजीमा उनीहरू तीनजनाको सबैभन्दा बलियो सम्भावना छ। 

त्यसपछि शर्मासँगै डीआईजीमा बढुवा भएका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीको एआईजी बन्ने सम्भावना छ। उनीहरू डीआईजीमा सिनियर भए पनि भर्नामा भने अगाडि अर्को ब्याच छ। 

तर लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्की र कोसी प्रदेश प्रहरी प्रमुख राजन अधिकारी भने चैत ५ पछि एआईजीमा बढुवा हुने सम्भावना बलियो छ। 

उनीहरूसँगै डीआईजी बनेका राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत डीआईजी मनोज केसी अहिलेको बढुवामा छुट्ने सम्भावना छ। उनी छुट्दा २०५२ को टोलीबाट एआईजी बन्ने छन्। त्यो टोलीबाट सिद्धिविक्रम शाह एआईजी बन्ने सम्भावना देखिन्छ। 

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको सिद्धिविक्रम शाहसहितको टोली पनि एआईजीको बलियो प्रतिस्पर्धी हो। तर यो टोलीबाट एकजना मात्रै एआईजी बन्ने सम्भावना अहिले देखिएको छ। त्यसमा बलियो प्रतिस्पर्धी पहिलो नम्बरका शाह नै हुन्। उनी एसएसपीसम्म २०५४ सालमा भर्ना भएको टोलीभन्दा अगाडि थिए। तर डीआईजी बढुवामा आईजीपी कुँवर र तत्कालीन गृहमन्त्री रवि लामिछानेले यो टोलीलाई नै छुटाएर बढुवा गरेका थिए। 

शाहसहित उनको ब्याचका ५ जना २०८१ मंसिरमा डीआईजीमा बढुवा भए। उनीसँगै बढुवा भएका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि एआईजीको लागि लबिइङमा छन्। एसएसपीमा अन्याय भएको भन्दै एआईजीमा दानबहादुर कार्कीसहितको टोलीलाई छाडेर बढुवा हुनु पर्ने उनीहरूको तर्क छ। 

तर दानबहादुर कार्कीसँगै बढुवा भएका मनोज केसीको अहिले एआईजी बन्ने सम्भावना कमजोर छ। यो सरकारले उनलाई सुरुदेखि नै रुचाएको छैन। सरकार बनेलगतै उनलाई विशेष ब्युरोबाट हटाइएको थियो। उनीसँगै बढुवा भएका कार्की र अधिकारीले प्रदेश प्रमुखको जिम्मेवारी पाए। तर केसी भने प्रहरी प्रतिष्ठानमै थन्किए।

अब पनि उनलाई छुटाएर विशेष ब्युरोका सिद्धिविक्रम शाहलाई बढुवा गर्ने सम्भावना बलियो छ।

यसपछि २०८१ पुसमा डीआईजी बनेका ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि एआईजीका दाबेदार हुन्। तर अहिले उनीहरू एआईजी बन्ने सम्भावना कम छ। उनीहरू सबै २०५४ साल चैत १८ मा भर्ना भएका हुन्। 

यसपटक एआईजी बन्ने होडले भावी नेतृत्वमा पुग्ने अधिकारीहरूको समेत संकेत गर्नेछ। यो टोलीबाट अहिलेकै अवस्थामा एआईजी बनेको ८ महिनापछि नेतृत्वमा पुग्ने अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad